अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न

अमेरिका । डेन्भर कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा यहि मे २२ तारिखमा सुरु भएको तीन दिने वृहत् अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २५ को दिन नौ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

चार दिनसम्म सञ्चालन भएको उक्त ऐतिहासिक सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा तथा अमेरिकाका विभिन्न सहरहरूबाट उल्लेख्य संख्यामा साहित्यकारहरूको सहभागिता रहेको थियो ।


अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता तथा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा सम्पन्न सम्मेलनको प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्साल थिए । कार्यक्रममा भारतको प्रतिष्ठित बालसाहित्य एकेडेमी पुरस्कारबाट विभूषित साहित्यकार मिना सुब्बा तथा मदन पुरस्कार विजेता डा. नीलम कार्की ‘निहारिका’ को पनि उपस्थिति थियो ।

सम्मेलनको मुख्य सत्रका रूपमा ‘विश्वसाहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व’ विषयमा केन्द्रित रहेर विशेष प्यानल छलफल तथा परिचर्चा आयोजना गरिएको थियो । केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीको सहजिकरणमा भएको उक्त बहस सत्रमा चार महादेशका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए ।

विमर्शमा अष्ट्रेलिया महादेशबाट योगी आचार्य राजन, युरोपबाट साहित्यकार माया गुरुङ, एसियाबाट प्रा.डा. पुष्पा शर्मा तथा उत्तर अमेरिकाबाट शिव दाहाल र रेखा जोशी प्यानलिस्टका रूपमा सहभागी थिए ।

बहसका क्रममा विश्वभर छरिएर रहेका नेपाली मूलका दोस्रो र तेस्रो पुस्तालाई कसरी नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदासँग जोड्न सकिन्छ भन्ने विषयमा गम्भीर मन्थन भएको थियो । वक्ताहरूले नयाँ पुस्ताले आफ्नो भाषा र संस्कृतिको नेतृत्व नलिनु चिन्ताको विषय भएको बताउँदै, यसो नभए नेपाली पहिचान समुद्रमा हराएको जहाज वा लट्टाईबाट धागो चुँडिएको चङ्गाजस्तै बन्ने खतरा औँल्याएका थिए ।

छलफलका क्रममा बालबालिका मात्र नभएर अभिभावकहरूमा समेत नयाँ प्रविधिको अत्यधिक प्रयोगले लागुपदार्थ जस्तै लत र असर पारेको धारणा राखियो । यसबाट बच्न बालबालिकालाई अधिकतम समय खेलकुद तथा रचनात्मक कार्यमा संलग्न गराउनुपर्ने विचार व्यक्त भयो ।

सो अवसरमा योगी आचार्य राजनले फिजीमा रहेका नेपाली मूलका मानिसहरूमा भाषा र संस्कृति पूर्ण रूपमा हराइसकेको अवस्था भेटिएकाले हाल त्यहाँ नेपाली पाठशाला खोलेर स्वयंसेवीहरूमार्फत भाषा सिकाउन थालिएको जानकारी दिए । त्यस्तै, प्रा.डा. पुष्पा शर्माले संयुक्त परिवारमा हुर्कने बालबालिकाले भाषा र संस्कृति सहज तरिकाले सिक्ने गरेको उदाहरण प्रस्तुत गरिन् भने माया गुरुङले विभिन्न अतिरिक्त रचनात्मक कार्यक्रमहरूमा जोड्दै लैजान सके बालबालिकाले भाषा सजिलै सिक्ने धारणा व्यक्त गरिन् ।


प्यानलिस्ट शिव दाहालले भाषा सिक्न दबाब दिने नभई यसको महत्त्व दर्शाएर सिकाउनुपर्नेमा जोड दिँदै भने, “हामीले नेपाली भाषा सिकाएनौँ भने भाषा लोप हुने होइन, हामी आफैँ लोप हुनेछौँ ।” रेखा जोशीले बालमनोविज्ञानमा कोभिड-१९ पछि देखिएको मानसिक तनाव र यसमा अभिभावकहरूले ध्यान दिनुपर्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।

नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यले संसारभरका बालबालिकाहरूबीच कविता वाचन तथा वक्तृत्वकला प्रतियोगिता गराइएको थियो । यसै सिलसिलामा सबै महादेशका १७० जना बालबालिकाहरूको कविता संकलन गरी तयार पारिएको ‘धराका सितारा’ कविता सङ्ग्रह प्रकाशन गरिएको घोषणा गरेको थियो ।

यसका साथै, अष्ट्रेलिया र उत्तर अमेरिकाका ४० जना बालबालिकाहरूले ‘युगकवि सिद्धिचरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको जानकारी गराइयो ।नेपाली साहित्यको प्रवर्द्धन र डायस्पोराको आवाजलाई मूलधारको सञ्चारमा जोड्ने उद्देश्यका साथ कार्यक्रममा नेपालका प्रतिष्ठित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा लामो समयदेखि नेपाली सञ्चारजगत्मा क्रियाशील दिग्गज पत्रकार तथा सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ ‘रोदन’, बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधिर शर्मा, टीकाराम यात्री, सन्त बस्नेत, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य, यशोदा तिम्सिना, दीर्घराज उपाध्याय लगायतको उपस्थिति थियो ।

सम्मेलनले डायस्पोरामा नेपाली भाषा, संस्कृति र विशेष गरी बालसाहित्यको संरक्षणका लागि नयाँ आयाम थपेको सहभागीहरूले निष्कर्ष निकालेका छन् ।

नवौँ सम्मेलनमा ‘नौ’ का नौला संयोगहरू: 

नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा केहि गजबका संयोगहरू उल्लेख गर्न लायक छन् । नवौँ सम्मेलन आफैँमा एउटा सुखद संयोग भैहाल्यो । त्यसबाहेक नौ अङ्कसँग जोडिएका केही नौला संयोगहरू छन् । त्यसो त सो सम्मेलन अनेक अविस्मरणीय संयोगहरूले भरिपूर्ण भएको कुरा सहभागीहरू बताउँछन् । तीमध्ये ‘नौ’ का केही मिठा संयोगहरू:

नौ पूर्वअध्यक्षहरू एक ठाउँमा:

अनेसासको इतिहासमै पहिलोपटक नौ जना पूर्व केन्द्रीय अध्यक्षहरू एकै ठाउँमा जम्मा भएर सम्पन्न भएको यो नै प्रथम कार्यक्रम हो ।

सम्मेलनमा पूर्व केन्द्रीय अध्यक्षहरू होमनाथ सुवेदी, भीम रेग्मी, पुरू सुवेदी, प्राध्यापक मोहन सिटौला, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, राधेश्याम लेकाली, गोवर्धन पूजा र सर्वज्ञ वाग्लेको उपस्थिति रहेको थियो ।

नौ बुँदे घोषणापत्र पारित:

सम्मेलनले नौ बुँदे घोषणापत्र पारित गरेको छ । घोषणापत्रका बुँदाहरू निम्नानुसार छन्: 

१. यसअघिका अनेसासका सम्मेलनहरूमा अनुमोदित घोषणापत्रहरूको पुनर्अध्ययन गरी कार्ययान्वन हुन बाँकी तथा कार्यान्वरन गर्न योग्य बुँदाहरूलाई कार्यान्वयनमा लाने प्रयत्न गरिने छ ।

२. अनेसासको वैश्विक प्राज्ञिक स्वीकृति र विश्वसनीयतालाई अझ सुदृढ तुल्याउने तथा आगामि दिनमा हुने शोध–अनुसन्धानमा नेपाली भाषा, साहित्य र संस्कृतिका विषयहरूले पनि प्रवृष्टि पाउन् भन्ने हेतुले नेपाली र अङ्ग्रेजी भाषामा, नेपाली कलासाहित्य र संस्कृतिमा आधारित गहन प्राज्ञिक अनुसन्धानबाट निर्मित लेखहरूसहितको एउटा वाषिक जर्नल प्रकाशित गर्ने प्रयन्त गरिने छ ।

३. आगामी दिनमा अनेसास केन्द्र तथा च्याप्टरहरूलाई विशेष विषय (थिम) मा आधारित गोष्ठी वा सम्मेलनहरू आयोजना गर्न प्रोत्साहित गरिने छ ।

४. नेपाल डायस्पोराका लेखककलाई प्रत्साहित गर्ने हेतुले नेपालबाहिर रहनुभएका नेपाली भाषी लेखहरूबाट अवधारणा आमिन्त्रत गरी सम्भावनायुक्त एक जना ३० वर्ष मुनिका लेखकलाई लेखन प्रोत्साहनका लागि असेसासन लेखनवृत्ति प्रदान गरिने छ । यस वृत्तिका लागि चयनित लेखकलाई पाण्डुलिपि परिष्कारका लागि विज्ञको सहयोग अनेसासले उपलब्ध गराउने छ । यसरी निर्माण भएको पाण्डुलिपिलाई अनेसास केन्द्रले प्रकाशित गर्न पहल गर्ने छ ।

५. प्रतिभाशाली बालबालिकालाई पुरस्कृत गर्ने निश्चित कुनै कार्यक्रम हाल मौजुद नरहेको अवस्थामा विश्वभरि, १८ वर्षमुनिका तथा सिर्जनात्मक अभिव्यक्तिको कुनै पनि विधामा पोख्त एक जना प्रतिभालाई अनेसास बाल प्रतिभा घोषणा गरी पुरस्कृत गर्ने व्यवस्था गर्नु वाञ्छनीय देखिन्छ ।

६. अनेसास केन्द्र तथा च्याप्टनरहरूले समान प्रकृतिका अन्य संघसंस्थासँग औपचारिक सहकार्य गर्ने दिशामा थप प्रयत्नहरू गरिने छ ।

७. विश्वभरि छरिएका नेपाली नवप्रतिभा तथा जिज्ञासु लेखकहरूलाई विविध विधामा विधाविज्ञहरूको मध्यस्थतामा लेखन प्रशिक्षण प्रदान गर्नका लागि विशेष पहल गरिने छ ।

८. विश्वभरि छरिएका नेपालीहरूको नवपुस्ता जुन जुन भाषामा आफूलाई अभिव्यक्त गर्न सहज ठान्छ, ती भाषाहरूमा आउने लेखनलगायतका, तर नेपाली मर्ममा आधारित अभिव्यक्तिलाई पनि आगामि दिनमा प्राथमिकताका साथ प्रोत्साहित गरिने छ ।

९. अनेसास केन्द्र वा कुनै पनि च्याप्टर प्रकाशक भएर छापिने कुनै पनि सिर्जनामा उच्चस्तरीय गुणवत्ता हुनु वाञ्छनीय छ । त्यसका लागि अनेसासलाई प्रकाशक बनाउन इच्छुक लेखकहरूले दर्ता गराएका पाण्डुलिपिलाई विविधत् रूपमा अनेसासले विज्ञहरूबाट मूल्याङ्कन गराई सुधान गर्नुपरे सुधार गर्ने, छाप्न योग्य भए अगाडि बढाउने र छाप्न योग्य नदेखिए त्यसलाई अस्वीकार गर्ने पद्धति निर्माण गर्ने छ । यसका लागि अनेसासको प्राज्ञिक समितिको सहयोग पनि लिन सकिने छ ।

उक्त घोषणापत्रले नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अनुसन्धान, प्रकाशन र नयाँ पुस्ताको सशक्त सहभागितालाई संस्थागत रूपमा अघि बढाउने दिशामा महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।

नौ महिला साहित्यकारलाई नवरत्न पुरस्कार:

सम्मेलनमा विभिन्न मुलुकमा बसोवास गर्नुहुने ९ जना महिला साहित्यकार, लेखक तथा साहित्य अभियन्तालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरियो ।

नवरत्न सम्मान पाउने नौ जना महिलाहरू:

१. रेणुका सोल (नेपाल)

२. रिजा प्रधान (अस्ट्रेलिया)

३. सीतादेवी बास्तोला (डेनमार्क)

४. सवि श्रेष्ठ (पोर्चुगल)

५. सीता अर्याल (अमेरिका)

६. कमला न्यौपाने (अमेरिका)

७. लक्ष्मी श्रेष्ठ (अमेरिका)

८. आना स्टिर (अमेरिका) 

९. विष्णु घले (अमेरिका)

नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अध्ययन, लेखन तथा अभियानमा विशेष भूमिका निर्वाह गरेबापत हरेक दुई वर्षमा दिइने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर छ । 

उद्घाटनमा विशिष्टहरूको भव्य सहभागिता:

एनआरएनए एनसीसी अमेरिका लगायत सङ्घ संस्थाको सहयोग तथा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को सहकार्यमा आयोजित भव्य सम्मेलनको उद्घाटन वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा र अनेसासका वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रूपमा गरेका थिए ।

विशेष अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा.ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, कोलोराडोको बोल्डर सहरका मेयर आरोन ब्रकेट,  वेष्टमिनिस्टर सहरकी मेयर क्लेयर केरमेलिया, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह लगायत थिए ।  

उद्घाटनलगत्तै डा. ज्याकलिनले ‘कि नोट स्पीकर’का रूपमा विश्व साहित्यको वर्तमान चुनौती, नेपाली साहित्यको सम्भावना र योगदानका विषयमा चर्चा गरेकी थिइन् । अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले सञ्चालन गरेको सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको थियो भने झण्डै १४० जना साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए ।

दर्जनौँ सेसनहरू:

वरिष्ठ साहित्यकार, पत्रकार तथा चर्चित लेखक सहभागी भएका दर्जन बढी सेसनहरुमा रोचक छलफल, बहस तथा अन्तरक्रिया गरिएको थियो । जसमध्ये ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ सेसनमा साहित्यकार निलम कार्की निहारिका, कान्तिपुरका पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, अनलाइनखबरका प्रधानसम्पादक तथा लेखक वसन्त बस्नेत वक्ता रहेको सेसन रोचक रह्यो । बीबीसी साझा सवालका पूर्वप्रस्तोता नारायण श्रेष्ठले सहजीकरण गरेको यो सेसनले इतिहासका चर्चित घटनाहरुलाई आख्यानमार्फत आम पाठकमाझ ल्याउने लेखकको योगदान र भूमिकालाई विशेष रूपमा चर्चा गरेको थियो ।

यस्तै नेतृत्व र साहित्य सेसनमा अनेसासका पूर्वअध्यक्षहरुको अनुभव प्रस्तुत गरिएको थियो भने नेपाली महिला साहित्य सेसनमा महिला साहित्यकारहरूको संघर्षदेखि सशक्तिकरणका विषयमा विशेष छलफल भएको थियो । यस्तै काव्यिक परम्परा र समकालीन अभिव्यक्ति, नेपाली साहित्यको प्रवर्द्धनमा डायस्पोरामा सक्रिय पत्रकार तथा मिडियाको भूमिकाका विषयमा पनि बहस भएको थियो ।

सम्मेलनमा सहभागी हुन नेपालबाट वक्ता तथा सहजकर्ताका रूपमा वरिष्ठ साहित्यकार डा. लम्सालसहित, सुधीर शर्मा, वसन्त बस्नेत, बबिता बस्नेत, टीकाराम यात्री, विपुल पोखरेल लगायतका पत्रकार सहभागी भएका थिए । यस्तै देउडा गायक तथा सर्जक नन्दकृष्ण जोशी पनि नेपालबाटै सहभागी थिए । अमेरिकाबाट पत्रकार नारायण श्रेष्ठ, प्रेम बानिया, राजन कुँइकेल, नेजाका अध्यक्ष सुरज भण्डारीको सहभागिता थियो ।

यस्तै साहित्यकारमा अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल, राधेश्याम लेकाली, गोवर्धन पुजा लगायतको सहभागिता थियो । कोलोराडोमा भव्य रूपमा साहित्य सम्मेलन सम्पन्न गर्न अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा कार्यक्रम संयोजक किरण अधिकारी, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी लगायतको विशेष भूमिका रहेको मिडिया कोर्डिनेटर दीर्घराज उपाध्यायले जानकारी दिए ।

विगतभन्दा फरक:

विगतका साहित्य सम्मेलनमा साहित्यकारहरूको जमघट, भेटघाट तथा छलफलमा बढी केन्द्रित रहने गरेकोमा यसपटक साहित्यकारसँगै चर्चित लेखक, पत्रकार तथा युवाहरूको भूमिकाले विशेष ठाउँ पाएको अनेसासका महासचिव राजु सिटौलाले बताए ।

‘अनेसासको यो नवौँ सम्मेलनले पहिलोपटक व्यापक रूपमा चर्चित लेखक, वरिष्ठ साहित्यकार, पत्रकारहरुको बेजोड प्रस्तुतिमा दर्जन बढी सेसनहरू सम्पन्न गरियो । यो नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा विशेष उपलब्धि हो’ महासचिव सिटौलाले भने, ‘अबका दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रवर्द्धनमा युवा साहित्यकारको सहभागिता, भूमिका र सबै सङ्घ संस्थाहरुको सहयोग लिएर अगाडि बढ्नुपर्ने जिम्मेवारी आएको छ । हामीले घोषणापत्रमा पनि त्यही कुरामा जोड दिएका छौँ ।’

भेटघाट तथा भ्रमण:

सम्मेलनमा सहभागी अतिथि, साहित्यकार, पत्रकार तथा लेखकहरूले अमेरिकामा रहेका नेपाली सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, समाजसेवी एवं युवाहरूसँग पनि छलफल, अन्तरक्रिया तथा भेटघाट गर्दै ‘कलरफूल कोलोराडो’का विभिन्न ठाउँहरूको भ्रमण गरेका थिए ।

आगामी सम्मेलन:

अनेसासले आगामी दशौँ सम्मेलन नेपाल, जापान वा अरू कुनै देशमा गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्