‘हिमलुङमा पलाएको माया’ काठमाडौँमा सार्वजनिक
काठमाडौँ । साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नविनतम् कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ सार्वजनिक गरिएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल चिबहालमा भएको कार्यक्रममा सहित्यकारहरू प्रमोद प्रधान, डा. हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत, केशव पराजुली, छविरमण सिलवाल, शंकर भारती र स्रष्टा पराजुली लगायतले उक्त कृति लोकार्पण गरे ।
कृतिमाथि बोल्दै समालोचक प्रमोद प्रधानले नेपाली समाज पढ्न सकिने गरी हिमाली जनजीवन र सो क्षेत्रका मानिसका दुःखका कुरा कथाले समेटेका भताए । पराजुलीका कथाहरु मानवशास्त्र, समाजशास्त्र र पर्याचेतका दृष्टिकोणले महत्वपूर्ण भएका जनाउँदै कथा पढ्दा आफू भावुक भएको उनले सुनाए ।
नियात्रामा जमेका पराजुली कथामा पनि राम्रै जम्न सक्ने सामर्थ्य राख्छन् भन्ने कुराको पुष्टि कथासङ्ग्रहले गरेको धारणा राख्दै चर्चाकार डा. हरिप्रसाद सिलवालले उनका नियात्रा र कथामा पाइएका परिवेश भने आफूलाई उस्तैउस्तै लागेको उल्लेख गरे ।
सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले आफूलाई पराजुलीका कथाको पहिलो पाठक भनेर चिनाउँदै मूल रूपले यात्रामा आधारित उनका कथामा आञ्चलिकता भेटिने प्रष्ट पारे ।
कथालाई परिभाषामा बाँध्न नसक्ने भन्दै कथा पढ्दा परिवेश, भूगोल, जनजीवन, संस्कृति जस्ता कुराहरू झल्किनुपर्ने बताएका कथाकार पराजुलीले कथा लेखनमा आफूले निरन्तरता दिने बताए ।
सञ्चारकर्मी राजेश खनालको सहजीकरणमा लेखकसँग र प्रकाशकसँग प्रश्नोत्तर गरी दुई चरणमा विभाजित कार्यक्रमको अर्को चरणमा भुँडीपुराण प्रकाशनका केशव पराजुलीले प्रकाशन गृहका दुःख, पठन संस्कृतिमा आएको ह्रास, भाषा साहित्यमा राज्यको उदासिनता लगायतका कुराहरु राखेका थिए ।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य दिएकी थिइन् भने प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
