गाउँले र खरेल सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा खरेललाई सम्मान गरेको छ ।

जनवरी ११ का दिनलाई अनेसासले दिवसको रुपमा मनाउने निर्णय गरेपछि अनेसासले यो स्थापना दिवसको आरम्भ वर्षको रुपमा मनाएको छ ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस थिए भने उपस्थित अतिथिहरुलाई नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मञ्जिला शर्माले स्वागत मन्तव्य गरेकी थिइन् ।

अनेसासका केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, केन्द्रीय महासचिव विमला निरौला, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्राज्ञिक समितिका सदस्य कृष्ण भण्डारीले शुभकामना मन्तव्य दिएका थिए भने सम्मानित व्यक्तित्व गीतकार दुर्गा खरेलको विषयमा समालोचक महेश पौड्यालले आफ्नो मन्तव्य राखेका थिए ।

महासचिव निरौलाद्वारा अनेसासको आरम्भ वर्षको यस स्थापना दिवस सबैभन्दा अगाडि नेपाल च्याप्टरले मनाउन पुगेको कुरा उल्लेख गर्दै अनेसास केन्द्र वर्तमान कार्यसमितिका कार्यकालका उपलब्धिका विषयमा प्रष्ट पारिएको थियो ।

उपाध्यक्ष डा. सोलुबाट कविता वाचनका साथै अनेसासको विषयमा आफ्नो धारण प्रस्तुत गरिएको थियो ।

अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले सम्मानित गाउँलेको प्रशंसा गर्दै अनेसास बिओटी र कार्यसमितिका विषयमा आफ्नो धारणा राखेका थिए । त्यसै गरी अनेसास प्राज्ञिक समितिका भण्डारीलगायत उपस्थित सबैले आआफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथ तुलसी दिवसले अनेसासको महत्व र यसले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्दै स्थापना दिवस मनाउने शुरुवात गर्नु यस कार्यकालको उपलब्धीपूर्ण कार्य भएको धारण व्यक्त गरेका थिए ।

अनेसा नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाद्वारा सञ्चालन गरिएको स्थापना दिवस कार्यक्रमको अन्त्यमा दीप प्रज्ज्वलन तथा केक काटिएर मनाइएको थियो । कार्यक्रमको समापन तथा धन्यवाद दिने क्रममा नेपाल च्याप्टरका अध्यक्ष एवं कार्यक्रम सभापतिले अनेसास र नेपाल च्याप्टरको विषयमा बोल्दै आगामी कार्यक्रमहरुका बारेमा प्रष्ट पारी कार्यक्रमलाई विसर्जन गरेका थिए । 

कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्यहरुलगायत उपत्यकामा रहेका साहित्कारहरु, पत्रकारहरुको उल्लेख्य रुपमा उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्