अनेसास निर्वाचनसम्बन्धी सूचना सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ ।

शनिबार अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे रहेका छन् । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचनले यसपटक १७ औँ अध्यक्षलाई निर्वाचित गर्ने छ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्य रहेका छन् ।

यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एक मात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।

यसपटकको निर्वाचनले एक-एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष गरी पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।

प्रतिकृया दिनुहोस्