विण्डसोर साहित्यिक सम्मेलन २०२४ भव्य रूपमा सम्पन्न

विण्डसोर, क्यानडा
साहित्य परिषद् भूटानको आयोजनामा क्यानडाको विण्डसोरमा ‘विण्डसोर साहित्यिक सम्मेलन २०२४’ भव्य रूपमा सम्पन्न भएको छ।

यही सन् २०२४ अगस्ट १७ तारिखमा परिषदको क्यानडा शाखाको व्यवस्थापनमा साहित्यिक सम्मेलन आयोजना गरिएको हो ।

क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न देशका साहित्यकारहरूलाई समेटेर गरिएको सो सम्मेलनलाई भाषिक अभियानको कोशेढुंगाको रूपमा लिएका छन् ।

नेपाली मूलका भूटानीहरूले नेपाली कला,साहित्य र संस्कृतिको प्रवद्र्धन गर्न आफ्नो जीउज्यानकै बाजी लगाएको कुरा सर्वविदितै रहेको छ । धेरैले भाषा जोगाउने क्रममा सहिद हुनुपरेको र कतिले अपाङ्गता हुनुपरेको र कयौँले निर्वासित हुनुपरेको थियो । यद्यपि भूटानीजहरूले आफ्नो देश छोड्नुपरे तापनि आफ्नो धर्म संस्कृति र साहित्यलाई कहिल्यै नछोडेको कुरा सर्वत्र ज्ञात नै छ ।

साहित्य परिषद्ले विभिन्न देशमा आफ्नो शाखा विस्तार गरेर नेपाली भाषाको उन्नयन र विकासमा वर्षौदेखि विभिन्न कार्यक्रम सभासम्मेलन गर्दै आइरहेको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा अनेसास बिओटीका सल्लाहकार गीता खत्री, अनेसास निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, निवर्तमान महासचिव विमला निरौला, भूटानी समाजका प्रबुद्ध व्यक्तित्वहरू, विश्वनाथ क्षेत्री, भुवन प्याकुरेल, दील भूटानी,डा. नारद पोखरेल,भानु ढुंगाना, छवि ढकाल, राम खत्रीलगायतको उल्लेख्य रूपमा उपस्थित रहेको थियो ।


अनेसास बिओटीका सल्लाहकार गीता खत्रीको प्रमुख आतिथ्यता, अनेसासका निवर्तमान अध्यक्ष साहिन्त्यकार गोवर्द्धन पूजा तथा निवर्तमान महासचिव विमला निरौलाको विशेष आतिथ्यतामा भएको उक्त सम्मेलनमा नेपाली भाषामा योगदान गरिरहेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्रष्टाहरूलाई पुरष्कृत गरिएको थियो ।

भूजनीज लिटरेचर डट कममा एकसयभन्दा बढी लेख रचना प्रकाशित गरेकोमा साहित्यकार एवं पत्रकार भक्त घिमिरेलाई सम्मान गरिएको थियो भने नेपाली भाषा साहित्यमा योगदना गरेबापत कवि केशव घिमिरे, बैरागी माइला, डिपी वस्ती, धर्मेन्द्र तिम्सिना क्षितिज, आर पी सम्मानित भएका थिए ।

त्यसैगरी नेपाली शिक्षाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिकाका लागि गोमा अधिकारी खतिवडा, कृष्ष्ण दंगाल, जानुका खनाल सुवेदीलाई सम्मान गरिएको थियो । आख्यान विधाका लागि प्रहेलिकाका लेखक जेएन दाहाल पुरस्कृत भएका थिए ।

सम्मेलनमा भूटानका सम्मानित लेखक देवीभक्त लामिटेद्वारा लेखिएको पुनःसम्पादित दन्किदो भूटान, विपी शर्माको म सिंगै हराउनका लागि रहेछु एउटा शहरभित्र, तुम्बेहाङ्ग लिम्बूको बिउ र हेम गुरागाईँको अनुदित दि प्लिग विट्नेस नामक पुस्तकहरू लोकार्पण गरिएका थिए ।
उक्त सम्मेलनमा विभिन्न विधाका काव्यवाचनसहित नेपाली भाषा साहित्यमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।

अनेसास निवर्तमान महासचिव साहित्यकार विमला निरौला, गण्डकीपुत्र, नवीन प्राचिन, भरत तिम्सिना, मदन दुलाल, अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष तथा साहित्यकार दीपा राई पुन, विश्वास लामा, धर्मेन्दै तिम्सिना क्षितिज, ओम ढुंगेल, सुरेन्द्र राजभण्डारी, तुलसा अधिकारीलगायतले आआफ्ना प्रस्तुती राखेका थिए ।

साहित्यिक माहोललाई रिया रिजाल, रिदम रिजाल, अर्जुन रसाइली, मनोज राईका सांगीतिक प्रस्तुतिले अझ आकर्षक बनाएको थियो ।
त्यस्तै भोलानाथ सापकोटा, गोविन्दसिं रावत, भक्त घिमिरे, डा. लक्ष्मीनारायण ढकालले विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै अदिति प्याकुरेलले समुदायमा नेतृत्व सशक्तिकरण विषयमा बोलेकी थिइन् ।

सम्मेलनमा आफ्नो विचार प्रस्तुत गर्ने क्रममा संस्थाका अध्यक्ष गंगा लामिटारेले भाषा बचाउन गरिएको संघर्षको कथा सुनाउँदा सभाहल स्तव्ध बनेको थियो । उनले नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि २५ हजार डलरको अक्षयकोषको घोषणा गरेका थिए ।

सम्मेलनलाई परिषद्का सचिव कवि एवं गीतकार खेम रिजालले सुन्दर रूपमा सञ्चालन गरेका थिए ।

समाचार स्रोतः समाज टाइम्स

प्रतिकृया दिनुहोस्