नेपालबाहिर नेपाली साहित्य र  यसको अन्तर्राष्ट्रियकरण

नेपालबाहिर नेपाली साहित्य र यसको अन्तर्राष्ट्रियकरण

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

अब नेपाली साहित्यलाई नेपालभित्र सिर्जित साहित्यमा मात्र सीमित नगरी व्यापकताका साथ हेरिनुपर्छ । अहिले नेपालबाहिरका नेपाली साहित्यको अवस्था निराशाजनक नभई उत्साहप्रद नै देखिन्छ तर नेपालबाहिरका नेपाली साहित्यको इतिहासलेखनमा भने ढिलाइ हुँदै गएको हुँदा त्यसतर्फध्यान दिनु आवश्यक छ ।

 

 

१. विषयप्रवेश
अहिले नेपाली साहित्य नेपालमा मात्र सीमित नरही अमेरिका, क्यानडा, बेलायत, युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया, जापान, कोरियालगायत नेपाली जाति पुगेका संसारका विभिन्न मुलुकमा विस्तार भएको छ र यो क्रम पछिल्लो समयमा दिनानुदिन तीव्रगतिमा बढ्दै गइरहेको छ । नेपाली साहित्यको उन्नयन र विकासमा नेपाल राष्ट्रको चार किल्लाभित्रका लेखक, साहित्यकारहरूको मात्र नभएर नेपालबाहिरका लेखक, साहित्यकारहरूको पनि उल्लेख्य योगदान रहेको छ । यसर्थ अब नेपाली साहित्यको चर्चा गर्दा नेपालमा मात्र सीमित नभई नेपाली जाति पुगेका संसारका विभिन्न मुलुकका नेपाली साहित्यको पनि जानकारी आवश्यक छ । यसैगरी नेपाली साहित्य नेपालीभाषी समुदायमा मात्र सीमित नराखी यसलाई अन्य भाषाभाषी समुदायमा पनि पु¥याएर यसको अन्तर्राष्ट्रियकरण/विश्वव्यापीकरण गरिनु जरुरी छ । यस आलेखमा नेपालबाहिर नेपाली साहित्य, साहित्यको अन्तर्राष्ट्रियकरणमा ध्यान दिनुपर्ने कुरा र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका विविध पक्षमाथि प्रकाश पारिएको छ ।

२. नेपालबाहिर नेपाली साहित्य

नेपाली साहित्यको उन्नयनमा नेपालभित्रका साहित्यकारहरूको मात्र नभई नेपालबाहिरका साहित्यकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको कुरा सर्वविदितै छ । नेपालबाहिरबाट नेपाली साहित्यको सिर्जना धेरै पहिलेदेखि नै भएको देखिए पनि पछिल्लो समयमा यो निकै फस्टाएको छ । पहिले नेपाली साहित्यका सन्दर्भमा नेपालबाहिर भन्नाले विशेषतः भारत र त्यसमा पनि बनारसलाई बुझाउ“थ्यो । नेपाल र नेपालीका लागि बनारसको भूमिका धार्मिक मात्र नभई राजनैतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक पनि रहेकाले यस्तो बुझिएको हो । केही पछि नेपालबाहिर भन्नाले छिमेकी मित्रराष्ट्र भारतका बनारस, दार्जिलिङ, सिक्किम, देहरादुन, भाग्सु, असम, मेघालयलगायतका भूभागका साथै भुटान, म्यान्मा आदिलाई पनि बुझाउन थाल्यो भने यतिखेर नेपालबाहिर भन्नाले अमेरिका, क्यानडा, बेलायत, युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया, जापान, कोरियालगायत नेपालीहरूको बसोबास रहेको संसारका सबै मुलुकसमेत बुझिन थालेको छ ।

सेनामा भर्ती भएर लाहुरे भई भारत, हङ्कङ, बेलायत आदि ठाउँमा जाने परिपाटी पुरानै भए पनि यसले अद्यावधि निरन्तरता पाइरहेको छ । ब्रिटिस गोर्खाली सैनिकहरू तथा भारतीय नेपाली सैनिक सेवामा रहेका विभिन्न व्यक्तिहरूबाट पहिलेदेखि नै विभिन्न विधाका साहित्य सिर्जना गरी नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ । अरूले भन्दा पनि बन्दुक समात्ने हातले फुर्सदमा कलम समातेर साहित्य सिर्जना गर्नु सराहनीय एवं प्रशंसनीय कार्य हो ।

सेनाबाहेक अन्य कामका सिलसिलामा पनि प्रशस्तै नेपाली बिदेसिएका छन् । देशको दक्ष जनशक्ति बिदेसिँदा समग्र देशलाई हानि पु¥याएको देखिए पनि भाषा, साहित्य, संस्कृतिको विस्तारका दृष्टिले भने केही मात्रामा फाइदै भएको देखिन्छ । नेपालमा २०४६ सालको राजनैतिक परिवर्तन, पचासका दशकको प्राम्भतिरैबाट माओवादीका नाममा भएको सशस्त्र द्वन्द्व, साठीका दशकको प्राम्भतिरै भएको आन्दोलन र राजनैतिक परिवर्तन, महाभूकम्प, हालसम्म नै विद्यमान राजनैतिक अस्थिरता, अविकासलगायतका विविध कारणबाट थुप्रै नेपालीहरू संसारका विभिन्न मुलुकमा छरिन पुगेका छन् । नेपालबाहिर गएका विभिन्न व्यक्तिहरूका सक्रियतामा संसारका विभिन्न भागबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, उत्तरअमेरिकाली नेपाली साहित्य प्रतिष्ठान, नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान, नेपाली वाङ्मय प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ, अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह आदि अनेक नामधारी साहित्यिक सङ्घसंस्थाहरू पनि खोलिएका छन् । यस्ता सङ्घसंस्थाहरूमध्ये कतिपय पूर्वस्थापित संस्थाबाट अलग हु“दै खोलिएका छन् भने कतिपय स्वतःस्फूर्त रूपमा र कतिपय प्रायोजित ढङ्गमा समेत खोलिएका देखिन्छन् । यस्ता सङ्घसंस्थाहरू खोल्नाको उद्देश्य नेपाली साहित्यको उन्नयन, विकास र विस्तार भनिए पनि खासमा व्यक्तिको गुम्दो पहिचानको खोजी रहेको देखिन्छ । पहिचानको खोजीकै लागि सङ्घसंस्थाहरू खोलिएका भए पनि यिनका माध्यमबाट केही मात्रामा नेपाली साहित्यको उन्नयन, विकास र विस्तार भएको छ ।

काम नगरी त्यसै बस्न नसक्ने र परिआउँदा पर्याप्त चुक्र्याइँ गर्न पनि नछोड्ने नेपालीको जन्मसिद्ध बानी नेपाली जाति पुगेजति सबै ठाउँमा सँगसँगै गएको देखिन्छ । नेपालीहरू विदेशमा गएर फुट्नु राम्रो होइन तापनि फुटेर वा जुटेर जेजसरी भए पनि खोलिएका विभिन्न सङ्घसंस्थाहरूले आआफ्नै ढङ्गले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिरहेका छन् । यो नेपाली साहित्यको विकासका लागि सकारात्मक पक्ष हो । यिनै संस्थाहरूमध्ये कतिपयबाट सानातिना पुरस्काररूपी गुलिया मट्याङ्ग्रा हान्ने गरेको पनि पाइन्छ । यसप्रकारको मट्याङ्ग्रा हनाइ बेलाबखत अलि बढी नै प्रायोजित देखिएका हुँदा त्यसले साहित्यको उन्नयन, विकास र विस्तारमा उति धेरै सहयोग पु¥याएको देखिन्न । जे होस् नेपालबाहिर बस्ने नेपालीहरूले नेपाली साहित्यको विनाशतर्फ नभई विकासतर्फ केन्द्रित रहेर गरिएका जुनसुकै कार्यलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।

यतिखेर नेपाली साहित्यलाई अनेक नामले चिनाउने होडबाजी चलेको देखिन्छ । डायस्पोरिक साहित्य, आप्रवासी/डायस्पोरा साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि यसका उदाहरण हुन् । यिनमा पनि पहिले भारतीय नेपालीहरूद्वारा सिर्जित साहित्यलाई प्रवासी साहित्य भन्ने गरिन्थ्यो तर त्यो नाम उपयुक्त नभएकाले यतिखेर यसलाई भारतीय नेपाली साहित्य भन्न थालिएको छ । कतिपयले भारतीय नेपालीहरूद्वारा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्नसमेत बाँकी राखेका छैनन् तर त्यो भनाइ उपयुक्त होइन ।
यतिखेर सर्वाधिक चर्चामा रहेको र बढी विवादास्पद रहेको शब्द डायस्पोरा हो । नेपालका कतिपय साहित्यकारहरू उत्तरआधुनिक भनाउन र नेपालबाहिरका अधिकांश साहित्यकारहरू डायस्पोरिक भनाउन लालायित देखिन्छन् र विनाहिच्किचाहट यस्तो भनिदिने केही पण्डाहरू पनि देखिएका छन् । नेपालभित्र जताततै उत्तरआधुनिकता र नेपालबाहिर जताततै डायस्पोरा देख्ने अनि उत्तरआधुनिक, डायस्पोरा आदि अनेक नामधारी लेखनको प्रारम्भ आफैँले गरेको र यसको आधिकारिक ठेकेदार आफैँ भएको भन्ठान्ने महारोगले पनि कतिपय कथित समालोचक भनाउँदा टिप्पणीकारहरूलाई ग्रसित तुल्याएको देखिन्छ । उत्तरआधुनिक र डायस्पोरा शब्द प्रशंसा मात्र नभएर निन्दा पनि भएको तथ्य बुझिदिएको भए यस्तो समस्या आउने थिएन ।

परदेशी साहित्य र डायस्पोरिक साहित्य भनेको पनि एउटै होइन । सामान्यतया कामविशेषले खास समयका लागि नेपालबाट छिमेकी मित्रराष्ट्रतिर गएका व्यक्तिहरूबाट सिर्जित साहित्य परदेशी साहित्य हो भने नेपालबाट अलि लामै समयका लागि अलि टाढै गएका व्यक्तिहरूबाट दुवैतिरको सामाजिक, सांस्कृतिक आदि सन्दर्भको सम्मिलनपूर्ण लेखन डायस्पोरिक साहित्य हो । हुनत यतिले मात्र यी दुवैलाई अथ्र्याउन मिल्दैन तैपनि यसको चुरो भनेको यही हो ।

राम्रो कामलाई जसले गरेको भए पनि प्रशंसा गर्नैपर्छ तर प्रशंसाका नाममा एउटा सामान्य कृतिलाई यस शतक वा दशककै उत्कृष्ट कृति भनी अनावश्यक बढाइचढाइ गर्ने काम गर्नुहुन्न । यसबाट भनिदिनेलाई केही क्षणिक लाभ होला तर स्रष्टा र सृष्टि दुवैलाई हानि नै हुन्छ । वैयक्तिक स्वार्थपूर्तिका दृष्टिले नभई तटस्थ भएर सिर्जनाको विश्लेषण गरिनुपर्छ । विश्लेषण गर्ने नाममा अनावश्यक उचाल्ने र पछार्ने काम गर्नुहुन्न । अहिले नेपालभित्रका केही व्यक्तिले नेपालबाहिरको नेपाली साहित्यमा यस्तो रोगको भाइरस छर्ने काम गरिरहेकाले यस्ताबाट सम्बद्ध सबै सचेत हुनुपर्छ ।

यतिखेर नेपालबाहिर स्थापित विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमार्फत अनेक साहित्यिक सम्मेलनहरू भइरहेका छन् । यो साहित्यको विकासका दृष्टिले सकारात्मक पक्ष होे तर सबै सम्मेलनलाई प्रथम र विश्व सम्मेलन नै भन्नुपर्ने मानसिकताबाट भने मुक्त हुनुपर्छ । पहिलोपटक कुनै काम गर्नु निःसन्देह राम्रो हो तर त्यो नै योग्यताको कसीचाहिँ होइन । काम कतिऔँ भन्दा पनि काम कस्तो गरियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । विश्व सम्मेलन भन्नेबित्तिकै त्यो उत्कृष्ट हुने पनि होइन, कामचाहिँ विश्वस्तरीय भएमा त्यसलाई जेसुकै नाम दिए पनि त्यो स्तरीय नै हुन्छ । यसर्थ काम कस्तो गरियो भन्ने कुरा योग्यताको कसी भएकाले त्यसतर्फ पनि सचेत हुनुपर्छ ।

नेपालबाहिर गएकाहरूले आजीविकाको समय बचाएर साहित्य सिर्जनामा खर्चिनु ज्यादै महत्त्वपूर्ण कार्य हो तर तिनीहरूले पनि एकदुईवटा कृति प्रकाशन गर्नेबित्तिकै तत्कालै मूल्याङ्कनको अपेक्षा गर्ने, कसैबाट प्रशंसामूलक टिप्पणी वा प्रशस्ती लेखाउने, पाठ्यक्रममा राख्नका लागि अनुनयविनय गर्ने कार्यतर्फ लाग्नु उपयुक्त होइन । आफ्नो सिर्जनाले पाइला मात्रै सार्छ कि फड्को मार्छ भन्ने कुराको मूल्याङ्कन समयक्रममा हुँदै जान्छ । कुनै पनि कामको चर्चा आवश्यक छ तर राम्रो कामको चर्चा आफैँ फैलिँदै जान्छ, कसैले अनावश्यक फुर्क्याउन आवश्यक छैन । यस्तो फुर्क्याइबाट व्यक्ति मात्र होइन साहित्य नै बिग्रन्छ । व्यक्तिगत स्वार्थपूर्ति गर्ने ध्येयबाट उत्ताउलिएर अनावश्यक रूपमा फुक्र्याई उचालेर टुप्पामा पु¥याउने वा पूरै खसालेर फेदमा झार्नेजस्ता घातक र निन्दनीय कार्य कसैले पनि गर्नुहुन्न । नेपालबाहिर गएका नेपालीहरू पनि मिलेर बसे राम्रो, मिल्न नसके पनि झगडा नगरे राम्रो हुन्छ । अझ खुट्टा तानातान नगरी नेपाली भाषासाहित्यको सेवामा लागेकै राम्रो, ३६ को अङ्कजस्तो भएको चाहिँ पटक्कै नराम्रो हो भने ६३ को अङ्कजस्तो भएको चाहिँ राम्रो हो  । भाइभाइ मारामार गरी वैरीलाई हँसाउने तथा आमा बेचेर सानीमा ल्याउने काम कुनै पनि सभ्य समाजका लागि उपयुक्त होइन भन्ने कुरामा सम्बद्ध सबै सचेत हुनु अत्यावश्यक छ ।

नेपालबाहिर रहेका नेपालीहरूमा देखापरेका यी कतिपय कमीकमजोरी हुँदाहुँदै पनि तिनीहरूबाट नेपाली साहित्यको विकासमा भइरहेका प्रयाशहरू सराहनीय छन् । पछिल्लो समयमा स्तरीय छपाइ र आकर्षक साजसज्जाका साथ विभिन्न विधाका प्रशस्तै कृतिहरू प्रकाशित भइरहेका छन् । यो ज्यादै खुशीको कुरा हो ।

३. साहित्यको अन्तर्राष्ट्रियकरणमा ध्यान दिनुपर्ने कुरा

कुनै पनि भाषाका साहित्यिक कृतिहरूलाई अनुवादका माध्यमबाट अन्य विभिन्न भाषी समुदायमा पु¥याउनुलाई साहित्यको अन्तर्राष्ट्रियकरण- विश्वव्यापीकरण भनिन्छ । अहिले जातिसँगै भाषा र भाषासँगै साहित्य पनि अन्तर्राष्ट्रियकरण भइरहेको छ । कुनै देशबाट त्यही देशको भाषामा लेखिएका साहित्यका विभिन्न विधाका कृतिलाई सम्बद्ध जाति पुगेका मुलुकमा पु¥याउनु वा सम्बद्ध जाति पुगेका मुलुकका बासिन्दाबाट गृहदेशकै भाषामा लेखिएका साहित्यका विभिन्न विधाका कृतिलाई गृहदेशमा ल्याउनु साहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरण गर्नु हो भनी कतिपयले भन्ने गरेको पाइए पनि यो भनाइ उपयुक्त होइन । सम्बद्ध भाषाको साहित्यका विभिन्न विधाका विभिन्न कृतिहरूलाई उही रूपमा उही समुदायमा पु¥याउनु अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरण नभएर तिनलाई अङ्ग्रेजीलगायतका विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी समुदायमा पु¥याउनुचाहिँ साहित्यको अन्तर्राष्ट्रियकरण/ विश्वव्यापीकरण हो । यसैगरी अन्तर्राष्ट्रिय नाम दिएर उही भाषी समुदायका विभिन्नतिरका मानिस जम्मा गरी उही भाषामा जतिसुकै र जस्तासुकै गोष्ठी गरे पनि त्यसबाट सम्बद्ध भाषासाहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरण हुन्न, यसका लागि भिन्न वा अन्य भाषी समुदायमा तिनकै भाषामा गर्नुपर्छ ।

डायस्पोरा साहित्यमा भाषाले त्यति फरक नपारे पनि अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणमा भाषाले महत्त्वपूर्ण भूमिका खेल्छ । जसरी अङ्ग्रेजी भाषाको साहित्य अनुवाद नगरी पनि विश्वव्यापीकरण भइसकेको छ भने अन्य विभिन्न भाषाका साहित्यलाई विना अनुवाद विश्वव्यापीकरण गर्न कठिन छ । अहिले अनेक मुलुकका विभिन्न जाति विश्वभर फैलिएकाले अन्तर्राष्ट्रिय समुदायमा आनो पहिचान कायम गर्नाका लागि पनि ती भाषासाहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गरिनु अत्यावश्यक भइसकेको छ । यसका लागि एउटा भाषाको साहित्यलाई अर्को भाषामा वा अङ्गे्रजीलगायत विश्वका बहुप्रचलित विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी मुलुकमा पु¥याएर तिनीहरूका माझमा आनो साहित्यलाई परिचित तुल्याउनु आवश्यक छ ।

साहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरण गर्न सजिलो नभए पनि यो वर्तमान विश्वको आवश्यकता हो । संसारका जुनसुकै भाषामा लेखिएका साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका लागि चयन (selection), अनुवादन (translation), सम्पादन (editing), प्रकाशन (publication), प्रसारण (extension) र वितरण (ditribution) मा ध्यान दिनुपर्छ । सङ्क्षेपमा भन्नुपर्दा साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका लागि चअसप्रप्रवि अर्थात् कतभउभम मा विशेष ध्यान दिनुपर्छ । यिनको सङ्क्षिप्त चर्चा तल गरिन्छ ः

(१) चयन

चयन भनेको धेरैबाट केहीको छनोट गर्नु वा छान्नु हो । धेरैबाट थोरैमा सीमित गर्नुलाई पनि चयन भनिन्छ । संसारका जुनसुकै भाषाका साहित्यलाई अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरण गर्नाका लागि सर्वप्रथम तत्तत् भाषामा सिर्जित साहित्यका विभिन्न विधाका स्तरीय कृतिको चयन गर्नुपर्छ । यसमा जुनजुन विधाका कृतिलाई बाहिर पठाउने हो तिनको निष्पक्ष र तटस्थ रूपमा चयन गर्नुपर्छ । चयनमा ध्यान दिनुपर्ने सर्वाधिक महत्त्वपूर्ण कुरा स्तरीयता हो । कृतिको चयन गर्दा स्तरीयतामा विशेष ध्यान पु¥याइएन भने त्यसपछिका प्रक्रिया निरर्थकप्रायः हुनेहुँदा चयनमा अत्यन्तै सजग र सचेत हुनुपर्छ । कृतिको चयनकर्तालाई सम्बद्ध साहित्यका विभिन्न विधाको इतिहास र विधाविशेषका स्तरीय कृतिबारे राम्रो जानकारी हुनुपर्छ । चयनकर्तालाई सम्बद्ध साहित्यको विधागत इतिहास र विधाविशेषका स्तरीय कृतिबारे जानकारी भएर मात्र पुग्दैन उसमा निष्पक्षता र तटस्थताजस्ता गुण हुनु अत्यावश्यक हुन्छ । सम्बद्ध साहित्यको विधागत इतिहास र विधाविशेषका स्तरीय कृतिबारे जानकारी नभएका तथा निष्पक्ष र तटस्थ हुननसक्ने पूर्वाग्रही व्यक्तिबाट गरिएको चयन उपयुक्त हुँदैन । यो व्यक्तिविशेषको नभएर सिङ्गो साहित्यको र त्यसका माध्यमबाट सिङ्गो देश र जातिको प्रतिष्ठास“ग गाँसिएको विषय भएकाले साहित्यको अन्तर्राष्ट्रियकरणका सन्दर्भमा चयन सर्वाधिक महत्त्वपूर्ण कार्य हो । चयनमै गडबडी भएमा त्यसभन्दा पछिका कार्य निरर्थकप्रायः हुने भएकाले साहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरणका लागि चयनमा विशेष ध्यान दिनुपर्छ ।

(२) अनुवादन

साहित्यका विभिन्न विधाबाट चयन गरिएका स्तरीय कृतिलाई अन्य कुनै भाषामा रूपान्तरण वा उल्था गर्नुलाई अनुवाद / अनुवादन भनिन्छ । कुनै पनि भाषाबाट अर्का भाषामा जस्ताको तस्तै अनुवाद गर्न सम्भव छैन । यसर्थ अनुवाद गर्दा चयन गरिएका कृतिको मूलभावलाई मर्न नदिई अर्का भाषामा रूपान्तरण गरिन्छ । जतिसुकै स्तरीय कृतिको चयन गरिए पनि अनुवाद राम्रो भएन भने त्यस्तो कृति महत्त्वहीन हुन्छ र त्यसबाट सम्बद्ध देश र साहित्यकै बदनाम हुन्छ । यसर्थ अनुवादलाई पनि विशेष महत्त्व दिनुपर्छ । अनुवाद गर्दा मूल कृतिको मूलभाव नबिगारी गर्नुपर्छ । अनुवाद अत्यन्त कठिन कार्य भएकाले यस कार्यमा अनुवादक सचेत हुनु जरुरी छ । अनुवादक सम्बद्ध दुवै भाषाको राम्रो ज्ञाता हुनाका साथै अनुवादकलामा पनि निपुण हुनुपर्छ । साहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरणमा अनुवादको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

(३) सम्पादन

कृतिविशेषका विषयवस्तु, भाषाशैली आदिलाई परिमार्जन गरी व्यवस्थित रूपमा मिलाउने कार्यलाई सम्पादन भनिन्छ । चयन गरिएका स्तरीय कृतिलाई अनुवाद गरिसकेपछि सम्पादन गरिन्छ । जतिसुकै स्तरीय कृतिको चयन गरिए पनि राम्रो अनुवाद नभए त्यो कृति महत्त्वहीन भएझैँ अनुवाद गरिएका कृतिको विषयवस्तु, भाषाशैली आदिको सम्पादन राम्ररी नगरिए त्यो सहज पठनीय हुन्न । अनुवादकमा सम्बद्ध दुवै भाषाको राम्रो ज्ञान नहुन पनि सक्ने हुँदा त्यस्तो अवस्थामा कृतिलाई सहज पठनीय तुल्याउन सम्पादकको विशेष भूमिका रहन्छ । कतिपय स्तरीय कृतिहरू पनि राम्रो सम्पादनका अभावमा महत्त्वहीन हुनेहुँदा कृति प्रकाशनपूर्व त्यसको सम्पादन राम्ररी गरिनुपर्छ । सम्पादन भनेको प्रुफ हेर्नु वा वर्णविन्यास सच्याउनु मात्र नभएर विषयवस्तुको व्यवस्थापन पनि भएकाले सम्पादन गर्ने व्यक्ति सम्पादनकलामा निपुण हुनुपर्छ । सम्पादनका नाममा मूल कृतिको मूलभाव खज्मिजिनचाहिँ दिनुहुन्न ।

(४) प्रकाशन

प्रकाशन भनेको कृति छाप्ने काम हो । कतिपय कृति आफ्नै खर्चमा आफ्नै वा आफन्त कसैका नामबाट छापिन्छन् भने कतिपय कृति विभिन्न नामधारी प्रकाशन संस्थाका नामबाट छापिन्छन् । कतिपय कृति आफ्नै खर्चमा विभिन्न नामधारी प्रकाशन संस्थाका नामबाट छापिन्छन् । कृति जसले जसरी छापे पनि कृति प्रकाशनमा टङ्कण, सेटिङ, कागज, छपाइ, गाता, गाताबन्दी सबैमा विशेष ध्यान दिनुपर्छ । कृति झट्ट हेर्दै आकर्षक देखिएमा त्यसले पनि निकै प्रभाव पार्ने हुँदा यी सबै पक्ष आकर्षक हुनुपर्छ । चयन, अनुवादन र सम्पादन जतिसुकै राम्रो र स्तरीय भए पनि प्रकाशन राम्रो र स्तरीय भएन भने पनि त्यो कृति पठनीय हुन्न । यसर्थ कृति प्रकाशन व्यावसायिक प्रकाशकबाट स्तरीय ढङ्गमा गरिनुपर्छ ।

(५) प्रसारण

प्रसारणले प्रचारप्रसार गर्ने कामलाई बुझाउँछ । कुनै पनि वस्तुलाई व्यापक रूपमा फैलाउने वा फिँजाउने काम नै प्रसारण हो । प्रकाशित कृतिलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गरी यसबारे रुचि राख्ने सबैलाई जानकारी गराउने कामलाई साहित्यको प्रसारण भनिन्छ । यसर्थ कृति प्रकाशन भएको जानकारी गराउनु नै प्रसारण हो । यो एक प्रकारको विज्ञापन हो । कुनै पनि विधामा प्रकाशित साहित्यिक कृतिलाई देशभित्र वा तत्तत् भाषी समुदायमा मात्र जानकारी गराउन त कठिन हुन्छ भने यस्ता साहित्यिक कृतिलाई विश्व समुदायमा पु¥याउन त झनै कठिन हुन्छ । साहित्यिक कृतिको प्रसारण विमोचनका समाचार, कृति समीक्षा, छापा पत्रिका, अनलाइन, रेडियो, टिभी, सामाजिक सञ्जाल आदि विभिन्न माध्यमबाट गर्न सकिन्छ । साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका लागि प्रसारण पनि आवश्यक हुन्छ । विभिन्न माध्यमबाट प्रसारित समाचार, कृति समीक्षा आदि हेरेर धेरै व्यक्तिले त्यो कृति खोजी गरेर पढ्छन् । यसर्थ कृतिको चयन, अनुवादन, सम्पादन र प्रकाशन जतिसुकै राम्रो र स्तरीय भए पनि त्यसको प्रसारण वा विज्ञापन राम्रोसँग गरिएन भने त्यो कृति छापिएको थाहा हुन्न । छापिएको थाहा नभएपछि बिक्ने कुरै भएन । यसर्थ प्रकाशित कृतिको प्रसारण पनि त्यतिकै आवश्यक हुन्छ ।

(६) वितरण

प्रकाशित कृतिलाई विभिन्न माध्यमबाट पाठकसमक्ष पु¥याउने कार्यलाई वितरण भनिन्छ । व्यक्तिविशेष वा विभिन्न पुस्तक पसल र पुस्तकालयमा पु¥याउने काम नै वितरण हो । वितरणमा व्यावसायिक प्रकाशकको आनो सञ्जाल हुनेहुँदा तिनबाट प्रकाशित कृतिको वितरण अलि व्यवस्थित हुन्छ भने व्यक्तिगत रूपमा वा हाम्राजस्ता सरकारी प्रकाशन संस्थाबाट प्रकाशित कृतिको वितरण त्यति व्यवस्थित हुँदैन । कृतिको चयन, अनुवादन, सम्पादन, प्रकाशन र प्रसारण राम्रोसँग गरिए पनि त्यसको वितरण राम्ररी गर्न सकिएन वा प्रकाशित कृतिलाई जुनसुकै माध्यमबाट भए पनि पाठकसमक्ष पु¥याउन सकिएन भने कृति प्रकाशनको औचित्य रहन्न । यसर्थ प्रकाशित कृति वितरणको उचित प्रबन्ध गरिनुपर्छ ।

यी सबै सन्दर्भबाट हेर्दा नेपालीलगायत संसारका जुनसुकै भाषाका साहित्यको पनि अन्तर्राष्ट्रियकरण/ विश्वव्यापीकरणका लागि चयन, अनुवादन, सम्पादन, प्रकाशन, प्रसारण र वितरण (चअसप्रप्रवि/steped) सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने हुँदा यी सबै पक्षमा विशेष ध्यान दिनु जरुरी छ ।

४. नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण- विश्वव्यापीकरण

अहिले नेपाली जाति विश्वका विभिन्न मुलुकमा फैलिएकाले अन्तर्राष्ट्रिय समुदायमा आनो पहिचान कायम गर्नाका लागि पनि नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गरिनु अत्यावश्यक भइसकेको छ । यसका लागि सर्वप्रथम नेपाली साहित्यका विभिन्न विधाका स्तरीय कृतिको चयन गर्नुपर्छ । त्यसपछि तिनलाई हिन्दीमा अनुवाद गरी भारतीयलगायत हिन्दीभाषी मुलुकमा तथा अङ्ग्रेजीलगायत विश्वका बहुप्रचलित विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी मुलुकमा पु¥याएर तिनीहरूका माझमा नेपाली साहित्यलाई परिचित तुल्याउनु आवश्यक छ । जुनसुकै साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणमा भाषाका प्रयोगक्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ । जसरी संसारभर विस्तारित अङ्ग्रेजी भाषाको साहित्य अनुवाद नगरी पनि अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण भइसकेको छ र सहजतापूर्वक हुन्छ भने नेपालीलगायतका विभिन्न भाषाको प्रयोगक्षेत्र न्यून भएकाले यस्ता भाषाका साहित्यलाई विनाअनुवाद अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गर्न कठिन छ ।

अहिले नेपाली जातिसँगै नेपाली भाषा पनि क्रमशः अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण हुँदै गएको देखिए पनि नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण भने अति न्यून मात्रामा वा शून्यप्रायः अवस्थामा नै रहेको छ । नेपालबाट लेखिएका नेपाली साहित्यका विभिन्न विधाका कृतिलाई नेपाली जाति पुगेका मुलुकमा पु¥याउनु वा नेपाली जाति पुगेका मुलुकका नेपालीबाट लेखिएका नेपाली साहित्यका विभिन्न विधाका कृतिलाई नेपालमा ल्याउनु नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गर्नु हो भन्ने कुरा कतिपयले चर्चा गर्ने गरेको पाइए पनि यो भनाइ उपयुक्त होइन । नेपाली साहित्यका विभिन्न विधाका विभिन्न कृतिहरूलाई उही रूपमा नेपाली समुदायमै पु¥याउनु अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण नभएर तिनलाई अङ्ग्रेजीलगायतका विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी समुदायमा पु¥याउनुचाहिँ नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण हो । यसैगरी अन्तर्राष्ट्रिय नाम दिएर नेपालीभाषी समुदायका विभिन्नतिरका मानिस जम्मा गरी नेपाली भाषामा जतिसुकै र जस्तासुकै गोष्ठी गरे पनि त्यसबाट नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रियकरण- विश्वव्यापीकरण हुन्न, यसका लागि भिन्न वा अन्य भाषी समुदायमा तिनकै भाषामा गर्नुपर्छ । यो नेपाली साहित्यको मात्र नभएर जुनसुकै साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका सन्दर्भमा लागु हुने कुरा हो ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गर्न नेपाली साहित्यका स्तरीय कृतिको चयन, अनुवादन, सम्पादन, प्रकाशन, प्रसारण र वितरणको उचित प्रबन्ध गरिनुपर्छ । यतिबेला कतिपय तथाकथित साहित्यकार भनिएका पैसावाल/धनाढ्य व्यक्तिहरूद्वारा लेखिएका स्तरहीन वा सामान्य कृतिलाई निजी लगानीमा विभिन्न भाषामा अनुवाद गरिएको पनि पाइन्छ । यसरी स्तरहीन वा सामान्य कृति विभिन्न भाषामा अनुवाद गरी तत्तत् भाषी समुदायमा पठाउँदा नेपाली साहित्यको नै बदनाम हुनेहुँदा जस्ता पायो त्यस्ता कृतिलाई अनुवाद गरी विश्वबजारमा लानु नेपाली साहित्यकै बदनामी हो भन्नेतर्फ सम्बद्ध सबै सचेत हुनु जरुरी छ । नेपाली साहित्यमा सिर्जित विविध विधाका उत्कृष्ट कृतिहरूलाई निष्पक्ष र तटस्थ ढङ्गले चयन गरी त्यसको अनुवादन, सम्पादन, प्रकाशन, प्रसारण र वितरणको व्यवस्थापन गरेर तत्तत् भाषी मुलुकमा पु¥याइएमा मात्र नेपाली साहित्यको स्तर विश्वसामु परिचित हुन्छ र त्यसको महत्ता कायम हुन्छ भन्नेतर्फ सम्बद्ध सबै सचेत हुनु आवश्यक छ । चयन, अनुवादन र सम्पादनमा तत्तत् विषयविज्ञबाट गराई प्रकाशन, प्रसारण र वितरण सरकारी वा गैरसरकारी प्रकाशन संस्थाबाट तत्तत् भाषी समुदायमा गरिएमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणमा सहजता आउ“छ ।

यतिखेर नेपालबाहिरबाट विभिन्न पत्रपत्रिकाहरू पनि स्तरीय रूपमा प्रकाशित भइरहेका छन् । वेब वा इपत्रिका, विभिन्न अनलाइनमार्फत पनि नेपाली साहित्यका विभिन्न विधाका कृतिहरू प्रकाशित भइरहेका छन् । यसले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएकै देखिन्छ । यस पङ्क्तिकारले भारतको गौहाटी विश्वविद्यालयमा एम.ए. नेपालीको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर तथा सिलोङमा नेपालीको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा निर्देशन गरेर नेपाली पठनपाठन प्रारम्भ गरेको साथै भारतको बनारस, सिक्किमलगायत विभिन्न विश्वविद्यालयमा नेपाली विषयको पठनपाठन भइरहेको छ भने यस पङ्क्तिकारकै निर्देशनमा निर्मित पाठ्यक्रम र पाठ्यपुस्तक अमेरिकालगायत संसारका अन्य विभिन्न मुलुकका विभिन्न ठाउँमा पनि नेपाली पठनपाठन हुन थालिसकेको छ । नेपाली भाषासाहित्यको विकास र विस्तारका लागि यी ज्यादै महत्त्वपूर्ण कार्य हुन् ।

पछिल्लो समयमा अमेरिकाका विभिन्न स्थानमा नेपाली विद्यालय/पाठशाला सञ्चालन गरी नेपाली भाषाको संरक्षण र जातीय पहिचानको जगेर्नाका लागि विभिन्न व्यक्ति र संस्था क्रियाशील रहेका छन् । यसमा अमेरिका निवासी रोम ज्ञवाली, शिव लामिछाने, रमेश ढकाल, विष्णु न्यौपाने आदिको सक्रियता रहेको छ । यस पङ्क्तिकारको विशेष सल्लाह र निर्देशन तथा शिव लामिछाने र लीला लुइटेलको लेखन–सम्पादनमा तयार पारिएका आधारभूत तह, मध्यम तह, उच्चमध्यम तह र उच्च तहका पाठ्यपुस्तक अमेरिका नेपाल सहयोगी समाज नामक संस्थाले प्रकाशन गरी अमेरिकाका विभिन्न राज्यमा पठनपाठनको व्यवस्था गरिरहेको छ । यो नेपाली भाषा र जातिको पहिचानलाई पछिल्लो पुस्तामा हस्तान्तरणका दृष्टिले सराहनीय र प्रशंसनीय कार्य हो । यो कार्य बेलायत, अस्ट्रेलिया आदि मुलुकमा पनि विस्तारित हुँदैछ र यसलाई अन्यत्र पनि विस्तार गरिनु आवश्यक देखिन्छ ।

यसैगरी अमेरिकाको वाशिङ्टन राज्यको कमिसनर मोहन गुरुङको सक्रियतामा कक्षा ११–१२ मा ऐच्छिक नेपाली पठनपाठनको व्यवस्था हुनु, मेरील्यान्ड राज्यमा ड्राइभिङ लाइसेन्सको परीक्षा नेपाली भाषामा दिन पाउने व्यवस्था हुनु, अमेरिकाका न्युयोर्कलगायत विभिन्न शहरमा नेपालीमा साइनबोर्ड राखिनु आदि पनि नेपाली भाषाको विस्तारमा उल्लेख्य उपलब्धि हुन् । यसबाट तत्कालै नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण- विश्वव्यापीकरण नभए पनि यस्ता गतिविधिले निरन्तरता पाउँदै गएमा कालान्तरमा यसले नेपाली भाषाको विकास र विस्तारका साथै नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण/ विश्वव्यापीकरणमा पनि सहयोग पु¥याउनसक्छ । यसर्थ हालका यी गतिविधिलाई नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण / विश्वव्यापीकरणको पृष्ठभूमिका रूपमा लिन सकिन्छ ।

५. निष्कर्ष

संसारभर छरिएर रहेको नेपाली जाति अब महाजाति तथा तिनीहरूसँगै संसारभर विस्तारित नेपाली भाषा महाभाषा भइसकेको र नेपाली साहित्य अति न्यून मात्रामै भए पनि अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण हुनथालिसकेको हुँदा यसलाई सीमित घेराबाट मात्र नहेरी व्यापक परिवेशबाट हेरिनुपर्छ अनि हाम्रो हेराइको दृष्टिकोणलाई पनि व्यापक तुल्याउनुपर्छ । अमेरिका, क्यानडा, युरोपका विभिन्न मुलुक, बेलायत, अस्ट्रेलिया, जापान, कोरियालगायत संसारका जुनसुकै मुलुकमा बसे पनि नेपालीत्व कायम गरी नेपाली भाषासाहित्यको निःस्वार्थ सेवा गर्नु प्रशंसानीय कार्य हो । नेपालबाहिर रहेका नेपालीहरूबाट नेपाली साहित्यको विकासमा भइरहेका प्रयाशहरू सराहनीय छन् तर त्यो नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणचाहिँ होइन ।

यसैगरी नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका लागि नेपाली भाषामा सिर्जित विभिन्न विधाका स्तरीय कृतिहरूको चयन, अनुवादन, सम्पादन, प्रकाशन, प्रसारण र वितरणजस्ता कार्यलाई सरकारी एवं गैरसरकारी साहित्यिक सङ्घसंस्थाहरूबाट निरन्तर रूपमा अगि बढाउन आवश्यक छ । यसमा चयन र अनुवादको विशेष महत्त्वपूर्ण भूमिका रहेकाले योग्य, सक्षम, निष्पक्ष र तटस्थ चयनकर्ताबाट स्तरीय कृतिको चयन गराइसकेपछि योग्य र सक्षम अनुवादकबाट अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद गराई त्यसको प्रकाशन, प्रसारण गरेर तत्तत् भाषी मुलुकमा वितरणको व्यवस्थाका लागि सम्बद्ध सबै सचेत हुनु आवश्यक छ । यसो गरिएमा मात्र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण हुनसक्छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणमा मात्रात्मकभन्दा गुणात्मकतातर्फ ध्यान दिनु जरुरी छ ।
समग्रमा भन्नुपर्दा अब नेपाली साहित्यलाई नेपालभित्र सिर्जित साहित्यमा मात्र सीमित नगरी व्यापकताका साथ हेरिनुपर्छ । अहिले नेपालबाहिरका नेपाली साहित्यको अवस्था निराशाजनक नभई उत्साहप्रद नै देखिन्छ तर नेपालबाहिरका नेपाली साहित्यको इतिहासलेखनमा ढिलाइ हुँदै गएकामा यस पङ्क्तिकारले आप्रवासी नेपाली साहित्यको इतिहास (२०८३) नामक पुस्तकमा विश्वका विभिन्न मुलुकका आप्रवासी नेपाली साहित्यको विधागत इतिहास लेखिसकेकाले अब नेपालबाट मात्र नभएर आप्रवासबाट पनि नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरणका लागि स्तरीय कृति चयन गर्न सकिन्छ ।

* लेखक अनेसासका पूर्व सल्लाहकार एवं त्रिवि नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख हुनुहुन्छ ।

नवौँ साहित्य सम्मेलन विशेषाङ्कबाट साभार

प्रतिकृया दिनुहोस्