अनेसास गण्डकी प्रदेश समिति गठनका साथै महेश्वर पन्तको गजल गायन सम्पन्न

२०८१ मङ्सिर १५ पोखरा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको माताहतमा गण्डकी प्रदेश समितिको गठन भएको छ । अनेसास नेपाल च्याप्टरको पहल र अनेसास केन्द्रीय समितिको सहमतिपछि यो प्रदेश समिति गठन गरिएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्व कुलपति सरुभक्त श्रेष्ठ, विशेष अतिथि प्राज्ञ तथा वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, र अनेसास केन्द्रीय समितिका सदस्य रविन शर्मा, सुमन वर्षा, उपन्यासकार बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

देवेन्द्र केसी “देवु” को अध्यक्षतामा गठन भएको प्रदेश समितिमा दुर्गा न्यौपाने उपाध्यक्ष, असफल गौतम महासचिव, कल्याण पन्त सचिव, कृष्ण रानाभाट कोषाध्यक्ष, र सरस्वती शर्मा “जिज्ञासु” सदस्य रहेका छन् ।

समारोहमा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष एवं केन्द्रीय संस्कृति समितिका संयोजक  कवि तथा साहित्यकार महेश्वर पन्तको गजल गायन थियो। अनेसास पोर्चुगल च्याप्टरका महासचिव एनबी अन्जानद्वारा रचनाकृत गजललाई पन्तले गाएका थिए भने आफ्ना रचनाहरू पनि प्रस्तुत गरेका थिए ।  उनका प्रस्तुतिहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।


यसै अवसरमा देवेन्द्र केसीका दुई नवीनतम कृति दृढ संकल्प (मुक्तकसंग्रह) र देवु भाग ३ (गीति एल्बम) को विमोचन गरिएको थियो । विमोचन कार्यक्रमको प्रमुख अतिथि सरुभक्त श्रेष्ठ, विशेष अतिथि हरिदेवी कोईराला र अन्य मञ्चासिन अतिथिहरूले गरेका थिए ।

सोही समारोहमै नवगठित समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरी गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।


कार्यक्रमले गण्डकी प्रदेशमा साहित्य, संगीत, र सामाजिक योगदानका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले नवगठित समितिलाई शुभकामना दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी र सृजनात्मक काम गर्ने प्रेरणा व्यक्त गरे।
कार्यक्रममा देश–विदेशका विभिन्न च्याप्टरका प्रतिनिधिहरूको उपस्थिति रहनुका साथै स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक दुर्गाबहादुर शाह “बाबा” ले बताए ।

प्रतिकृया दिनुहोस्