प्रेम छोटालाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

२०८१ फागुन ६ गते मंगलवार
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटालेपाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत र अमेरिकाको होलुलु निवासी डा. आन्ना स्टिर रहेका छन् ।
यस वर्षको पुरस्कार अनुसन्धानात्मक कृतिहरु र पुस्तकहरुको प्रकाशनका माध्मबाट नेपालको लोकवार्ता, लोकसाहित्य र लोकसंस्कृतिलाई नेपालका विभिन्न क्षेत्र एवं विश्वसामु परिचित गराउने अन्वेषक श्री प्रेम छोटालाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानबाट जारी प्रेसविज्ञप्तिको पूर्णपाठः
काठमाडौँ, २०८१ साल फागुन ६ गते लोकसाहित्य र लोकसंस्कृतिका स्रष्टा कालीभक्त पन्तको तेत्तीसौं स्मृति दिवसको अवसरमा कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालको कार्यसमितिले देहाय बमोजिमको निर्णय गरेको छः
- नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता स्रष्टा कालीभक्त पन्तको नाममा स्थापित वि.सं. २०८१ सालको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बिभिन्न क्षेत्रको लोकवार्ता, लोकसाहित्य र लोकसंस्कृतिको अनुसन्धान गरी आफ्ना अनुसन्धानात्मक कृतिहरु र पुस्तकहरुको प्रकाशनका माध्मबाट नेपालको लोकवार्ता, लोकसाहित्य र लोकसंस्कृतिलाई नेपालका विभिन्न क्षेत्र एवं विश्वसामु परिचित गराउने अन्वेषक श्री प्रेम छोटालाई प्रदान गर्ने । २०८१ फागुन १८ गते फलेबास नगरपालिका,पर्वतमा स्थित कालीभक्त-कृष्णापन्त स्मृति भवनमा विशेष कार्यक्रम गरी उक्त पुरस्कार श्री प्रेम छोटालाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि नेपालमा रू १०१०००।– र विदेशमा १००१ अमेरिकी डलर दिने गरिएको छ।
(ख) नेपाली लोकसंस्कृति र लोकसाहित्यबारे खोजी गर्नुका साथै नेपाली लोकसाहित्यका सर्जकहरुका देनबारे संचारमाध्यम मार्फत प्रचार-प्रसार गरी नेपाली लोक साहित्यको विकासका लागि अनवरत रूपमा योगदान पुर्याउने श्री ओमबहादुर भन्डारीलाई २०८१ सालको कालीभक्त पन्त स्मृति पुरस्कार प्रदान गर्ने। उक्त पुरस्कारको राशि रू. १०,०००।– छ।
(ग) फलेवास नगरपालिका स्थित श्री शारदा मा.वि. फ.न.पा. १० कुर्घाका कक्षा ९(२०८०) का सर्वोत्कृष्ठ छात्रा श्री सोनिया पौडेल, श्री लिमिठाना मा.वि. फ.न.पा. ७ लिनिठानाका कक्षा ९(२०८०) का सर्वोत्कृष्ठ छात्रा श्री सुस्मा सुनार र जनता मा.वि. फ.न.पा. ६ देवीस्थानका कक्षा ११ (२०८०) का सर्वोत्कृष्ठ छात्रा श्री अनिता नेपालीलाई प्रदान गर्ने। उक्त सबै छात्रवृत्तीको वार्षिक छात्रवृत्ति रकम आठ-आठ हजार रुपैयाँको रहेको छ ।
(घ) बि.स. २०८१ सालको कृष्णा पन्त महिला सम्मान पुरस्कार फलेबास निवासी ९० बर्षकी वरिष्ठ जेष्ठ नागरिक श्रीमती बेणुका पौडेललाई प्रदान गर्ने ।
प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना
अध्यक्ष
मितिः २०८१-११-०६,
शास्त्रीमार्ग, मैतिदेवी, काठमाडौँ
फोनः ९८५१०००१७४; इमेलः [email protected]