डा. अधिकारी र चिमौरियाका कविता गुञ्जिए ठमेलमा

काठमाडौँ । आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थे औंसीको दिन कवि डा. अनन्त अधिकारी र कवयित्री सरस्वती चिमौरियाले आफ्ना दश दश थान कविता सुनाए ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा. अधिकारीले नयाँ वर्ष, भन बकरा, गनगने लोग्नेको श्रीपेच, काठमाडौँ र काठमाडौंहरु, सर्वाइवल नोट, पाउजु नामको स्वतन्त्रता हुँदैन, बासङ्ग आग्रह, डोर प्रसादको डेरा, उप्रान्त मेरो भगवान शिर्षकका कविताहरु सुनाए भने चिमौरियाले आमा, वर्तमानको सारथी म, देश त संघीयतातिर जाँदैछ नि, आऊ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका, आफन्तले, मैले दिन सकिन, दुखियाको जिन्दगी, म छाँया खोजी रहेछु शिर्षकका कविता सुनाइन ।

प्रमुख अतिथी कवि, साहित्यकार उषा शेरचनले कविहरुलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको उल्लेख गर्दै सुन्दर बिम्बहरुको प्रयोगले कविताहरु बलिया रहेको बताइन ।

नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरु सुन्दर रहेको बताए । नयाँ वर्ष र आमालाई भावनात्मक रुपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविताहरु, देशप्रतिको चिन्ताको प्रकटीकरण, बेथितिप्रति कटाक्ष र भोलीका दिनको चिन्ता अनि व्यवहारलाई सचेत गराउने कविता सुन्न पाएको उनले बताए ।

रोदनले अर्का कवि डा. अधिकारीका कविताबारे टिप्पणी गर्दै  मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेका बताए । कविता मान्छेका विभिन्न भूमिकाप्रति लक्षित, गहन भावका, काठमाडौँको विशालताभित्रका असँख्य पीडा समेटिएका कविता प्रस्तुत गर्ने डा. अधिकारीको कवित्व चेत उच्च रहेको रोदनले बताए ।

शिक्षासेवी लेखनाथ हुमागाईँले आफुले पढाएका विद्यार्थीहरुको साहित्य सिर्जना र सकारात्मक कार्यमा लगनशीलता देखेर मन खुशी भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरेका थिए । उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखेको कार्यक्रम चिवहाल परिवार,गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्