दमन्ता खनाल स्मृति सम्मानद्धारा तिवारी आमा सम्मानित

काठमाडौं । तिवारी आमा भनेर चिनिने लक्ष्मी तिवारीलाई ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’द्धारा सम्मानित गरिएको छ ।
नेपाल स्रष्टा समाजद्धारा राजधानीमा हालै आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले तिवारी आमालाई उक्त सम्मान समर्पण गरे ।
नगद २० हजार एक सय एघार, सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मान गीतकार पुष्पा खनालले वि.सं.२०७५ मा आफ्नी आमाको नाममा स्थापना गरेकी हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले आफ्नी आमाप्रति माया र सम्मानस्वरूप आमाको जन्मदिनकै दिन समर्पण गर्ने गरी सम्मानको व्यवस्था मिलाउने पुष्पा खनालको प्रशंसा गर्दै गाउँघरमा भएका दिदीबहिनीहरु पनि प्रतिभावान हुन्छन् भन्ने कुराको लक्ष्मी तिवारी ज्वलन्त उदाहरण भएको चर्चा गरिन् ।
समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुबैलाई धन्यवाद दिए । पाल्पा रामपूर निवासी लक्ष्मी तिवारी (तिवारी आमा) को व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पारिन् । उनले विद्यालयमा जम्मा दुई कक्षामात्र पढेकी तिवारी आमा नाच्नमा समेत निपूर्ण भएको बताउँदै समाजका विकृति र विसंगतिमाथि सिलोक, तीज गीत, रोइला रत्यौली गीतको माध्यमबाट पस्कने प्रतिभा उहाँमा भएको प्रष्ट पारिन् ।
पुरस्कृत स्रष्टा तिवारीले उतिबेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले गर्दा पढ्न नपाएको बताइन् । सोही अवसरमा उनले राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा रामपूरको महिमा झल्कने सिलोक समेत सुनाइन् ।
समाजका अध्यक्ष रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरु सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाईलाई नेपाल स्रष्टा समाजले तोडेको बताए । रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य राखेका थिए ।
ओझेलमा परेका नारी स्रष्टालाई उक्त सम्मान प्रदान गरिदै आएको आयोजकले वताए ।