अनेसासले १२९ औं महानन्द सापकोटा जयन्ती मनायो

“महानन्दका दुर्लभ पाण्डुलिपिहरूको संरक्षण गरेनौँ भने ती चाँडै लोप हुनेछन्”
अनेसास केन्द्रीय कार्य समिति तथा अनेसास जर्जीया च्याप्टरले राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार श्री महानन्द सापकोटाको २९ औं जन्मजयन्ती समारोह भव्यताले सम्पन्न गरेको छ ।
अनेसासले हरेक वर्षजस्तै अप्रिल २६ मा उनको विरासत, राष्ट्रप्रतिको योगदान र आजको समाजले उनका धेरै कार्यहरूबाट के र कसरी लाभ उठाउन सक्छ भन्ने कुराका बारेमा अन्तर्क्रियाका साथै महानन्दको जन्मजयन्ती मनाएको हो ।
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अनेसास बिओटीका पूर्व सल्लाहकार प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथि रहेको कार्यक्रमलाई जर्जीया च्याप्टरकी अध्यक्ष मीरा कोइरालाले कुशलतापूर्वक सञ्चालन गरेकी थिइन् ।
कार्यकर्ममा साहित्यकार मोहन सिटौला, महेश प्रसाईं, अनेसासनेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, तीर्थ अधिकारी, रोहिणी शर्मा, रमाकान्त सापकोटा, चेत घिमिरे, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास निवर्तमान अध्यक्ष गोवर्धन पूजा, राजेन्द्र श्रेष्ठ आदिले महानन्द सापकोटाको बारेमा उजागर गरेका थिए ।
कार्यक्रममा महानन्द सापकोटाका परिवारका सदस्य महेश प्रसाईं, लुना सिटौला र डा सञ्जीव सापकोटाले पनि मन्तव्य राखेका थिए ।
महानन्द नेपाली आकाशको एक चम्किला तारा हुन्। नेपाल सरकारले उनको सम्मानमा हुलाक टिकट जारी गरेको छ। अन्तर्राष्ट्रिय ब्रह्माण्ड समाजले बुधग्रहमा रहेको एउटा खाडललाई उनको नाममा सापकोटा खाडलको नाम दिएको छ।
कार्यक्रमका वक्ताहरूले नेपालमा उल्लेखनीय कार्य र योगदानको सम्झना गर्दै नेपाल राष्ट्रमा योगदान र सामाजिक न्याय, जातीय समानता प्रवर्द्धन गर्न उनले गरेको त्याग, साथै उनले लेखेका दर्जनौं कविता र निबन्धका पुस्तकहरूको बारेमा चर्चा गरेका थिए ।
उनी त्यस बेलाको समयमा पनि जातीय विभेदविरुद्धका अभियन्ता थिए । तेसबेलाको समयमा उनले विद्यालय बनाए र समाजले तल्लो जात ठान्ने मानिसहरूलाई भर्ना दिए। उनका कार्यले उच्च जात ठान्नेहरूलाई रिस उठायो तर यसले उनलाई कुनै फरक पारेन। उनले तेह्रथुम, इलाम, झापा, धरान, धनकुटामा जहाँ जहाँ बसे, सबै ठाउँमा विद्यालय बनाए।
वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष मोहन सिटौलाले उनको साहित्यिक योगदानलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए।
डा. सञ्जीव सापकोटाले यस कार्यक्रमको उद्देश्य महानन्दलाई उजागर गर्नु मात्र नभई उनको काम र योगदानले वर्तमान पुस्तालाई कसरी फाइदा पुर्याउँछ भन्ने बारेमा छलफल गर्नु पनि रहेको बताए।
उनले महानन्दको बारेमा गर्नुपर्ने कामहरूको सूची उल्लेख गरे-
“पहिलो नेपाली शब्द परिचयको पुनर्मुद्रण गर्नु हो। ३० वर्षको अनुसन्धानपछि एक्लैले लेखेको उनको यो उत्कृष्ट पाण्डुलिपि लोप हुन लागेकोले यसलाई नेपाल एकेडेमीले पुनर्मुद्रण गर्नुपर्छ। दोस्रो, उनको नाममा वृत्तचित्र बनाउनु हो। मदन पुरस्कार पुस्तकालयमा उनको भिडियो फुटेज छ। जुन उनको नाममा वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनुपर्छ। यस्तो वृत्तचित्रले वर्तमान पुस्तालाई प्रेरणा र प्रेरित गर्ने निश्चित छ ।”
यसैक्रममा उनले अनेसासको लोगोमा महानन्दको फोटो पनि थप्न सिफारिस गरे ।
प्राध्यापक लुइटेलले महानन्दका दुर्लभ पाण्डुलिपिहरूको संरक्षण गरेनौं भने ती चाँडै लोप हुनेछन्, अनि मानिसहरूले महानन्दको बारेमा बिर्सनेछन्” नेपाली शब्द परिचयको पुनर्मुद्रण भएमा त्यसमा चाहिने प्राविधिक विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य डा तीर्थ तिम्सिनाले दिएका थिएभने धन्यवाद ज्ञापन नमिता घिमिरेले दिएकी थिइन् ।