व्याकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा  प्रा.डा. कृष्णप्रसाद दाहालले २०७२ बैशाख १२ मा कृतिकारले भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको, मिर्गौला रोगी हुँदा समेत कृतिकारमा उत्तिकै साहित्यिक उर्जा देखिएको बताउँदै यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको पनि उल्लेख गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. गोविन्दमानसिंह कार्कीले भूकम्पसँग जोडिएका अनेक रचना समाविष्ट यो कृति पढ्दा भूकम्पको कथा व्यथा भेटिने बताए  । कृतिकार व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभूति सुनाए ।

स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गरे । साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको अवस्थामा गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए ।

लेखक व्याकुलकी पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएको सो पुस्तकमा  कूल ४१ वटा रचनाहरू समावेश छन् । विशेष गरी कविका रूपमा परिचित व्याकुलको यो फरक कृति पनि हो ।

प्रतिकृया दिनुहोस्