“प्रेमाश्रु” – एक विवेचना/परिचर्चा
|
|
ईश्वरी भट्ट
प्रधान सम्पादक, अनेसास न्यू ह्याम्पसायर
अनेसास केन्द्रकी पूर्वमहासचिव अर्थात् शारदा देवी ढुंगाना र श्यामजी शर्मा ढुंगानाकी अनि नेपाल आमाकै एक सफल छोरी। श्रीमान् मोहन निरौलाकी प्रिय संगिनी, छोराछोरी विमोचन र विवेचनाकी ममतामयी आमा र हाम्री अत्यन्त प्रिय चेली। अनेसास न्यू ह्याम्पसायरकी प्रमुख सल्लाहकार र हालै मात्र अनेसास केन्द्रअन्तर्गत अनेसास दर्पण प्रकाशन (२०२६-२८) को प्रधान सम्पादकमा नियुक्त। एक सरल, शिष्ट र सुन्दर मनोभाव भएकी सशक्त समाजसेवी अभियन्ता।
साहित्यिक रूपमा भन्नुपर्दा – कवि, कथाकार र नियात्राकार; सबैभन्दा बढी बालसाहित्यकार। उहाँका हालसम्म विविध विधामा तिमी विनाको हाम्रो जीवन – बाल कविता सङ्ग्रह, बाल मन – बाल चित्रकविता सङ्गालो, मोबाइलका कुरा – बाल चित्रकाव्य, बाल बगैँचा, बादल र ऋतु – बाल चित्रकाव्य, तीन चरी, पशुपन्छी – बाल चित्रकविता सङ्गालो, ठूलो भई के बन्ने – बाल संवाद चित्रकविता, निर्दोष कोपिला – बालगीत सङ्ग्रह, काव्य पराग – मुक्तक सङ्ग्रह, ओथारो बसेका सपनाहरू – कविता सङ्ग्रह, यात्रामा देश – बाल नियात्रा सङ्ग्रह र प्रेमाश्रु – कथा सङ्ग्रह गरी हालसम्म चौध कृतिहरू प्रकाशित छन्। यसैगरी गरिमा, मधुपर्क, मुना, शारदा लगायत विभिन्न पत्रपत्रिकाहरूमा आफ्ना थुप्रै लेखरचनाहरू पस्कनुभएको छ साहित्यकार विमला ढुंगाना निरौलाले।
|
|
|
साहित्यकार निरौला साहित्यिक र सामाजिक योगदानका कारण धेरै सङ्घसंस्थाहरूबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ। अनेसासबाट डायस्पोरा सम्मान, नवरत्न पुरस्कार, दयाशाह पुरस्कार, शिव लामिछाने सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार, डीसी मेट्रो कविता वाचन प्रथम पुरस्कार; राष्ट्रिय सेवा सम्मान २०८०, काठमाडौँ; सप्तरङ्गी साहित्य विशेष सम्मान २०८०, पोखरा लगायतका सम्मान तथा पुरस्कार उहाँले प्राप्त गर्नुभएको छ। अनेसास न्यू ह्याम्पसायरले पनि २०८२ मा उहाँलाई सम्मान गरेको छ।
साहित्यकार निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बाल साहित्य प्रतिष्ठान, कृष्ण साहित्य सदन, नेपाली बाल साहित्य समाज, अमेरिका सहयोगी समाज, शिक्षा सदन भर्जिनिया, नेपाली सामुदायिक केन्द्र भर्जिनिया, रेवा अर्गनाइजेसन नेपाल, सप्तरङ्गी साहित्यिक प्रतिष्ठान, गुञ्जन साहित्य नेपाल, वनिता प्रकाशन विराटनगर, महिला गीतकार सङ्घ नेपाल लगायतका सङ्घसंस्थाहरूसँग आबद्ध हुनुहुन्छ।
अब केही चर्चा – “प्रेमाश्रु”को
प्रेमाश्रुले देश पनि बोकेको छ, विदेश पनि बोकेको छ। सुख पनि बोकेको छ, दुःख पनि बोकेको छ। मानौँ, यो संयोग र वियोगको सङ्गम पनि हो। महिलाको पति र परिवारप्रतिको माया, ममता र समर्पणभाव बोकेको उत्कृष्ट धाराप्रवाह हो यो कथा सङ्ग्रह। यसले मानसिक पीडाबाट उत्पन्न हुने स्वभावको चित्रण गरेको छ। मान्छेका मनको मनोविज्ञान प्रेमाश्रुमा व्यक्त भएको छ।
इषिका नेपाली समाजकी होनहार पात्र हुन्। उनकी आमाले जस्तै दुःख भोग्ने धेरै महिलाहरू नेपालमा र सायद विश्वमै छन्।
साहित्यकार निरौलाको प्रेमाश्रुमा समेटिएका कथाहरू सरल, सरस र बोधगम्य छन्। मिठासपूर्ण र प्रकृतिमय पनि छन्। भौगोलिकताको वर्णनमा कथाकार माहिर देखिनुहुन्छ। हुन त यसअघिको प्रकाशन यात्रामा देश शीर्षकमा पनि भौगोलिकताको चित्रण गजबकै छ।
यस कथा सङ्ग्रहमा पनि न्यूयोर्क, शिकागोदेखि बोस्टनसम्म र नेपालका धेरै क्षेत्र समेटिएका छन्। साथै जापान पनि समेटिएको छ।
यसमा महिला-पुरुषका मनोभाव पोख्ने काम मात्र नभएर समाजको यथार्थ सामाजिक चित्रण गरिएको छ।
“प्रेमाश्रु” साँच्चिकै प्रेम र आँसु मिलेर बनेको छ। यसको शीर्षक पनि यथार्थमा आधारित छ र सङ्ग्रहित कथाहरू पनि हाम्रा सामाजिक यथार्थका प्रत्यक्ष अनुहारहरू हुन्। नेताका भाषण र व्यवहार आफ्नै छोरीको अगाडि पनि मेल खाँदैनन्। नारी दिवसबारे सुन्दर भाषण दिएर आउने नेताले जुत्ता-मोजा सिँगार्न लगाउनु र उनको सेवामा अरूले सहजै थाहा पाएर गर्नुपर्ने व्यवहारले समाजलाई प्रत्यक्ष ऐना देखाएको छ। नारी मनोविज्ञान प्रशस्त बोकेको छ यो कथाले।
कोरोना काल संसारकै एक दुःखद काल हो। यसले दिएको दुःख र लिएको ज्यानबारे कथाकार प्रत्यक्ष ज्ञाता हुनुहुन्छ र आफ्ना देखाइ-भोगाइहरूलाई समष्टिगत रूपमा राख्न पछि पर्नुभएको छैन।
१९९ पृष्ठको यो पुस्तकमा २९ वटा सुमधुर कथाहरू समेटिएका छन्। सबै कथाको यहाँ चर्चा सम्भव छैन। तर पढ्दा छोड्न मन नलाग्ने, पढूँ-पढूँ लाग्ने अर्थात् जति पढ्यो उति रस प्रदान गर्ने शिल्पका छोटा-मीठा, साना तर प्रशस्त ज्ञानवर्धक र शिक्षाप्रद कथाहरूको सङ्गालो हो प्रेमाश्रु भन्नुमा अत्युक्ति नहोला।
समाजमा हुने रीतिथिति, धर्म-संस्कार, विवाह, व्रतबन्ध, गुन्युचोलो जस्ता प्रथाहरूको अवस्था र हाम्रा संस्कारहरूको राम्रो शिक्षा प्रदान गरेको छ प्रेमाश्रुले। यसले पुराना युक्ति र सङ्गतिहरूलाई प्रदर्शन मात्र गरेको छैन, आधुनिकतामा आधारित सामाजिक चरित्रलाई पनि छर्लङ्ग पारेको छ। यसले पूर्वीय र पाश्चात्य दुवै सभ्यताको मार्गचित्रण गरेको छ।
मानिस कसरी खुसी र सन्तुष्ट रहने भन्ने बाटो पनि यस कथा सङ्ग्रहमा समेटिएको छ। पीडित भएर पनि कसरी मानवताको पक्षमा परिणाम निकाल्न सकिन्छ भन्ने कुरा र गलत बाटो लिएकाहरूलाई सही बाटोमा ल्याउने उदाहरण मिस मोइले अपनाएको क्षमादानको बाटोबाट प्रस्ट हुन्छ। आवेग खराब चिज हो र यसले क्षति मात्र गर्छ भन्ने पनि प्रशस्त उदाहरण छन् यसमा। छोरी र छोरामा हुने मनोवैज्ञानिक भेदभावको पनि प्रचुर उदाहरण बोकेको छ यो कथा सङ्ग्रहले।
वर्षौँसम्म आफूमा बसेका वेदना वा अनुभवलाई नदी बहेजस्तै सलल बहाव दिएर नेपाली वाङ्मयको सिञ्चन गर्नु कथाकारको ठूलो मनसाय हो भन्ने यहाँका लेखाइहरूबाट बुझिन्छ। नेपाली साहित्यको कथा भण्डारमा यो एक सुनौलो उपहार पनि हो। लेखकले आफैँ प्रस्तुत गर्नुभएको छ –
“प्रेम मनको करुणा, समर्पण र स्वीकारोक्तिको सुन्दर सङ्गम अनि निरन्तर ढुकढुकीमा चल्ने मीठो स्पन्दन। पीडा र खुसीको भौतिक आरण बनेर नयनबाट तप्किएका तरलता हरेक जिन्दगीको एक घाम र एक जूनसरि छ। मैले पनि जीवनका अनगिन्ती तरलता समेटेर यो प्रेमाश्रु कथा सङ्ग्रहको प्रकाशनको जमर्को गरेकी हुँ।”
“यथार्थका सिलसिलाहरू नै मेरा कथाका विशेषता हुन्।”
त्यस्तै, कथाकार जिन्दगीका बारेमा यसो भन्नुहुन्छ –
“आहा यो जिन्दगी! सधैँ जितको अनुभूति। हो, यो जिन्दगी कति सुन्दर रहेछ! थाहा नभएर पो रहेछ! यो प्रेमिल जीवन त फूलजस्तो कोमल, सुन्दर र बास्नादार रहेछ। घामजस्तो न्यानो र चम्किलो रहेछ। जूनजस्तो शीतल र उज्यालो लाग्दैछ। हिमालझैँ उच्च, कञ्चन र आकर्षक पनि छ। मनोहर इन्द्रेणीजस्तै सप्तरङ्गी। जति जिन्दगी खोतल्न खोज्छु उति रमाइलो लागेर आउँछ। हरपक्ष प्रेम मुस्कुराएको। कौतूहलता जागेर आउँछ।”
समाजमा रहेको छोरा र छोरीको विभेदलाई चिर्दै उहाँ भन्नुहुन्छ –
“छोरी भएर जन्मनु कमजोरी होइन, छोरीलाई कमजोरी ठान्नु समाजको अपराध हो।”
नारी साँच्चिकै धर्ती रहेछन् भन्ने प्रमाण छ यस कथा सङ्ग्रहमा।
प्रकृति र प्रेमलाई जोड्दै कथाकार सान्नानी पात्रको प्रतीकात्मकतामा लेख्नुहुन्छ –
“धागोको पैया बनेको अल्लारे उमेर र पवित्र प्रेममा आफ्ना चाहना, खुसी र सुखको कल्पनाका पवित्रता गाँस्दै थिई। विश्वास अनि समर्पणलाई धागोको गाँठोमा बेस्सरी कसेर सिँगार्दै थिई भविष्यका सम्भावनाहरू टलक्कसँग टल्काउने भरोसामा। हो यही बाटो, चौतारी, वन, झाडी, रूख, बुटा, पाखो र सलल बगेको भेरीको तीर अनि बलौटे बगर उसलाई लाग्थ्यो – यही बाटो जीवनको सुनौलो यात्रामा बदलिनेछ। यही बगर खुसीको आँगन बन्नेछ। यही भेरी जीवनको लय हुनेछ।”
कतिपय विषयहरूमा कथाकारले राम्रै व्यङ्ग्य प्रस्तुत गर्नुभएको छ। जस्तै, “पुरस्कार” शीर्षक यसको उदाहरण हो। अनि कथामा कविता मिसिएको “कथाविता” पनि यसमा उदाहरणका रूपमा झल्किएको छ।
त्यसैगरी समय र प्रकृतिलाई कथाकार यसो भन्नुहुन्छ –
“समयको पदचाप एकनास अघि बढ्छ। वसन्त फेरि-फेरि आइरहन्छ। प्रकृतिलाई कुनै फरक परेन। किनकि प्रकृति कसैको प्रतीक्षा गर्दैन। अनि प्रकृतिले पनि अरूकै खुसीमा आफूलाई सुम्पिएको हुन्छ।”
असाध्यै रोचक र शिक्षाप्रद यो कथा दोस्रो पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको “बेहुला मामाको बटुक भान्जा” सम्झने गरी पढ्नुपर्ने कथा हो। माथि भनिएझैँ, यो कथामा हाम्रा संस्कार र पद्धतिको राम्रो व्याख्या छ। यो नै प्रेमाश्रु कथा सङ्ग्रहमा समेटिएको अन्तिम कथा पनि हो।
कथाकारलाई यस्तै रचनाहरू पस्केर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्धन र उन्नयनमा अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलोस्। लेखनकलाको माध्यमबाट अझै देश-विदेशमा कीर्ति फैलिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
धन्यवाद!
नोट: पाठकवर्गलाई यो पुस्तक खोजी-खोजी पढ्नसमेत हार्दिक अनुरोध छ।


लेखक – विमला ढुंगाना निरौला – एक साहित्यिक र सामाजिक व्यक्तित्व।