बङ्गलादेशमा नेपाली साहित्य, कला र संस्कृतिको चर्चा
बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भयो । लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक साँस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियो । कार्यक्रममा बाल साहित्य, कविता परिचिती, यात्रा/नियात्रा, समकालीन साहित्य, अनुवाद आदि विषयमा नेपाली साहित्यकारहरुले विमर्श गरेका थिए ।
नेपाली साहित्य र उपस्थित साहित्यकारको परिचयबाट प्रारम्भ भएको नेपाल सत्रमा साहित्यकारहरुले आ-आफ्नो धारणासहित काव्य वाचनसमेत गरेका थिए । कवि ऋषभदेव घिमिरे, कवि तथा पत्रकार मीनकुमार “नवोदित” श्रेष्ठ, प्रकाशक हरिवोल ढकाल र साहित्यकार युवराज नयाँघरेले वर्तमान नेपाली साहित्य, साहित्यको विश्वव्यापीकरण एवं अनुवाद साहित्यको महत्त्वबारे टिप्पणी गरेका थिए भने अन्य नेपाली साहित्यकारहरुले विभिन्न प्रस्तुति दिएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष कवि राजेन्द्र के.सी.को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बंगाली कवि तथा साहित्यकार साहजाह कविर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा गर्दै नेपाल बंगलादेशबीच साहित्यिक/साँस्कृतिक आदानप्रदानको भावी कार्यक्रमको रुपरेखा बारे प्रकाश पार्दै आयोजकका तर्फबाट आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता मन्तव्य समेत राखेका थिए । पर्यटन र साहित्यलाई जोड़ेर राजा ईशा खाँको ऐतिहासिक दरबारको अवलोकन, ऐतिहासिक मस्जिद, किशोरगञ्जस्थित कालीवाढी मन्दिर आदिको अध्ययन अवलोकनसमेत गराईएको थियो ।