महिनावारी
महिनावारी
महिनावारी हुन्छ,
म पर सर्दिनँ,
म नछुने पनि हुन्नँ,
म महिनावारी हुँदा लुक्न चाहन्नँ,
महिनावारी हुँदा लुकाउन पनि चाहन्नँ ।
महिनावारी हुँदा म आफूलाई अछूत मान्दै मान्दिनँ,
घरको एउटा कुनामा म थन्किन जाँन्दै जान्दिनँ,
बुइँगल, चोटा, मजेरी र वरण्डा नचाहारी मलाई हुँदै हुँदैन,
मैले छुदैमा घरका बटवबरुवा पनि मर्दैनन्
कसैले भन्दैमा र मैले छुँदैमा बुवाले खानेकुरा बिटुला पनि हुँदैनन् ।
प्रकृतिको यो प्यारो नियमलाई,
शरीरको यो नियमित चक्रलाई,
म पर्खेर बस्छु,
किन कि महिना महिनामा रज्वस्वला हुँदा,
म आफूलाई पूर्ण ठान्छु,
किन कि प्रकृतिको यो नियमले मलाई बलियो बनाउँछ,
मलाई पूर्ण बनाउँछ, मलाई जननी बनाउँछ ।
महिनावारी हुँन्छ,
कहिले सहज हुन्छ,
कहिले साह्रै गाह्रो हुन्छ,
बेला न कुबेला,
ठाउँ बेठाउँमा सुरु हुँदा,
असहज र अप्ठेरो पनि हुन्छ,
तर, महिना महिनामा मेरो शरीरबाट रगत बग्दा,
मलाई कहिले पनि लाजमर्दो हुँदैन,
किन कि महिना महिनामा रज्वस्वला हुँदा,
म आफूलाई पूर्ण ठान्छु,
किन कि प्रकृतिको यो नियमले मलाई बलियो बनाउँछ,
मलाई पूर्ण बनाउँछ, मलाई जननी बनाउँछ ।
महिनावारी हुन्छ,
म पर सर्दिनँ,
म नछुने पनि हुन्न,
महिनावारी हुँदा म आफूलाई अछूत पनि मान्दिनँ।
यो विसङ्गतिविरुद्धमा म बोल्न पर्छ,
एक पटक होइन, धेरै पटक मैले भन्न पर्छ,
नरम हैन, चर्को स्वरले भन्न पर्छ,
किन कि विद्रोहका बोली नरम हुँदैन,
एक पटक भनेर कसैले बुझ्दैन,
चर्को स्वरले नबोले कसैले सुन्दैन,
कसैलाई मन नपरे पनि ,
कसैको चित्त दुखे पनि,
म रज्वस्वाला हुँदा भन्सा र पूजा कोठामा म छिर्नै पर्छ,
बुवाले पानी खाने अम्खोरा मैले छुनै पर्छ ।
मैले यो कुरामा विद्रोह गर्नै पर्छ,
घर भित्रको पुरीनो यो नियम मैले तोड्नै पर्छ,
यो लडाईं मैले लड्नै पर्छ,
आफ्नै र भावी पुस्ताका लागि घरभित्रको यो लडाइँ मैले जसरी पनि जित्न पर्छ,
मिलेर हामी अघि बढ्न पर्छ,
भावी पुस्ताका लागि नयाँ बाटो खोल्न पर्छ ।
प्रतिकृया दिनुहोस्