अनेसास न्यु साउथ वेल्सको विश्वव्यापी कविता प्रतियोगिता, नर्वेका सापकोटा प्रथम

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको सहयोगमा अनेसास न्यु साउथ वेल्स च्याप्टरले विश्वव्यापी कविता प्रतियोगिता आयोजना गरेको छ । यही ७ जुन शनिबारका दिन डिजिटल प्लेटफर्म जुम मार्फत सञ्चालित कार्यक्रम विशिष्ट साहित्यकार प्रतिक ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतियोगितामा ‘सगरमाथा र हिमाली भेगको संरक्षण’ विषयमा लेखिएका विश्वका बिभिन्न देशका ३५ जना कविहरूबाट प्राप्त कविताहरू समावेश थिए । नेपाल, अष्ट्रेलिया, ओसनिया, युरोप, अमेरिका लगायत विश्वका फरक-फरक ठाउँबाट इमेलमार्फत प्राप्त ३५ मध्ये ३१ जना कविहरूले जुममा उपस्थित भई आ-आफ्ना कविता वाचन गरेका थिए ।  अनेसासका निवर्तमान केन्द्रीय अध्यक्ष कवि गोवर्द्धन पूजा, वर्तमान बरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदी र भारती गौतम सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट कवि र कविताहरूको छनौट गर्नुभएको थियो । जसमा नर्वेका राजेश सापकोटाले प्रथम पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी नुवाकोटकी निर्जला लम्साल र लमजुङका  प्रज्ज्वल अधिकारीलाई सान्त्वना पुरस्कार प्राप्त भएको छ ।

निर्णायक गोवर्धन पूजाले नतिजा घोषणा गर्दै प्रथम हुने सापकोटाले ३०० डलर र प्रमाणपत्र तथा लम्साल र अधिकारीले १०० डलरको सान्त्वना  पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका बताउनुभयो ।

उत्कृष्ट दश कविहरू प्रेम पौडेल, राजेश सापकोटा, निर्जला लम्साल, प्रज्वल अधिकारी, बिजयीता भण्डारी, प्रकाश सापकोटा (वाचन नगरिएको), यशोदा अधिकारी, आस्था भट्टराई, बुद्धमणि ढकाल, डिइबी सिकारु, लविन राई (अनाम उपेक्षित) का कविताहरू अनेसास दर्पणमा प्रकाशित गरिने आयोजकले जानकारी दिए ।

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो भने केन्द्रीय महासचिव राजु सिटौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्