डा. गौतमको ‘समवेत’ लोकार्पित

काठमाडौं । वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ ।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा. डा. ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र कृतिका सर्जक गौतम स्वयं लगायतले उक्त कृतिको लोकार्पण गरे ।

कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रधानले २१ वटा निबन्धहरुमा कवित्व चेत प्रखर बनेर आएका बताए । उनले पुस्तकप्रेमलाई मान्छेसँग तुलना गरी जीवनलाई गहिरिएर अध्ययनद्धारा निबन्ध लेखनी भएको बताउँदै गौतमका निबन्धहरु पाठक र लेखकबीचको सम्बन्धलाई निकट बनाउने गरी लेखिएको प्रष्ट पारे ।

अर्का समीक्षक प्रा. डा. पाण्डेले समवेत धेरै थरी रंगको विचारको एकिकृत आवाज भएको बताइन । उनले भनिन– ‘मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरालाई निबन्धहरुले वताउँछन् । समाजको आँखामा राम्रो देखिन मान्छे आफैंलाई ढाँट्छ भन्ने मानवीय प्रवृत्तिलाई प्रायः निबन्धले जोडेका उनले प्रष्ट्याइन् ।

कृतिका सर्जक प्रा. डा. गौतमले निबन्धमा आफैंलाई लेखेको बताए । आफुलाई समालोचना गर्न भीडमा पनि सजिलो हुने तर निबन्ध सृजना गर्न गाह्रो हुने उनको तर्क थियो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार बन्न गाह्रो भएको बताउँदै आत्मपरक निबन्धमा गौतमको गौरव गर्न लायक कृति आएको बताए ।

नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तब्य व्यक्त गरे । सदस्य मधु पाठकद्वारा सञ्चालित कार्यक्रममा सचिव प्रकाश घायलले आगन्तुकहरूलाई शब्दमार्फत स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्