चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ लोकार्पित

काठमाडौँ । कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण सम्पन्न भएको छ । राजधानीमा आयोजित एक साहित्यिक कार्यक्रमका बिच  प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाईँ, रामसुन्दर देउजा लगायतले सो कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. ज्ञवालीले कविताको लयको माधूर्य, शब्दको सौन्दर्य, भाव सौन्दर्य संप्रेषणीयता भएमा कविता सुन्दर हुने बिचार व्यक्त गर्दै कवि चौलागाईँलाई निरन्तर साधनामा लाग्न शुभकामना दिए ।

प्रा. डा. गौतमले चौलागाईँका कवितामा नेपाली कविताक्षेत्रमा कम प्रचलित छन्दहरु प्रयोग गरिएको बताउँदै सरलतामा पनि कविताले गहिरो भाव दिन सक्छन् भन्ने उदाहरण ती कविताहरू भएका विचार व्यक्त गरे ।

समालोचक भण्डारीले लोकार्पित कृतिका कविले संवेदनशील भएर भावनालाई ह्रदयस्पर्शी हुनेगरी कविताहरूमा पस्किएका, समाजको संगत विसङ्गत कविताहरुले देखाएका र कविताहरू सकारात्मक सोचले भरिएका विचार व्यक्त गरे भने अर्का वक्ता रोदनले लेखनीलाई उमेरले नछेक्ने कुरा चौलागाईंको कृति प्रकाशनले प्रष्ट पारेको र कविताहरू कविजस्तै सरल, शालीन भावका भएका बताए । कवि चौलागाईँले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा डा. सिता सुवेदी, रुपा रिसाल र दीपक चौलागाईँले कृतिभित्रका कविताहरु बाचन गरे भने गायक रामहरि न्यौपानेले गीत गाएर रौनकता थपे ।

आयोजक सुनकोशी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेका थिए भने सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्