अनेसास कविता महोत्सवमा विजयी भएका कविताहरू
अनेसास कविता महोत्सव २०२५ मा विजयी भएका कविताहरू
१) देश जलिरहेको बेला (प्रथम)
गङ्गा पोखरेल, रुपन्देही नेपाल
![]() |
जब बल्दछ आगो दनदनी
मान्छेका मनहरुमा
अनि सल्किन्छ डढेलो चित्तमा
यो भूमण्डलबाट उडेको अश्रुग्याँसको अत्तरले
आकाश दुर्गन्धित पार्न थाल्दछ हठात्
दूरदराजबाट अधिकार माग्न आएका
राष्ट्रका होनहार नव-युवाहरु
ढल्दछन् देशकै आँगनमा बेकसुर
सडकपेटी र नालीहरूमा बगिरहेको
कलिलो रगतको खोलो फर्काएर
युगले माटोको गर्भमा सिंचाइ गर्न
उठायो साहसिक शिर
उचाल्यो पौरखी पाखुरा
थाप्यो वीरताको छाती ।
त्यहीँबाट मन जल्न थाल्यो
जहाँबाट सपूतहरुको रगतलाई
प्रज्वलनशील इन्धन बनाएर
तिनकै इमानको पुल्ठो बनाएर झोसियो
यद्यपि त्यो मृत्यु सस्तो थिएन
बलिदान केवल मर्नु मात्र होइन
यो त युगले फेर्ने नयाँ काँचुली हो
ढालिएका जिवनहरु
इतिहासका अमर पानाहरू
टुटेका स्वरहरू
भोलिको युगिन गीतका राग हुन्
सुकेका आँसु
पालुवा बँचाउने पानी हुन्
पीडामा खसेका आँशु
महान बलिदानको आवाज गुन्जाउँदै
इतिहासका पानामा स्वर्णाक्षरले लेखिनेछन् ।
सहिदका आक्रोशित आँखाबाट
निस्केको ज्वालाले देश जलाउँदैन
बरु दमनको रापबाट निस्केको गोलीले
देशलाई भस्म पार्दछ
अनि, ढल्दछन् शान्तिका परेवा धरामा
सँगै उडेर जान्छन् भूमिपुत्रका सपना नभमा
देशलाई शोकमा डुबाएर
तथापि, शोक अन्तिम अध्याय होइन
शोक त ऊर्जा हो
सबैको साझा सपना जगाउने
प्रत्येकको स्वर तेजिलो बनाउने
जल्नु खरानी हुनु मात्र होइन
जल्नु उज्यालो छर्नु पनि हो ।
कतै आक्रोशको आगोले
कतै आशाको दीयोलो
देश जलिरहेको बेला
नजलाउँ भन्दाभन्दै पनि
जल्दोरहेछ मन अनायास
देश जल्नु भनेको त
एउटा मान्छेको
सिङ्गो सन्सार जल्नु पो रहेछ ।
२) मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर (द्वितीय)
मधु घिमिरे, पेन्सेल्भेनिया, अमेरिका
![]() |
ओजस्वी घिमिरे बडो गजबका साहित्यका साधक
भाषाका अति मान्य राष्ट्र कवि हुन्,हुन् काव्यका नायक
नेपाली जनका अमूल्य गहना उत्प्रेरणाका घर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।१
बेंसी फॉंट हिमाल उच्च चुचुरा पाखा पखेराहरू
राखी प्यार अपार दिव्य कविको गर्छन् प्रशंसा अरु
गाई गीत अनन्त चल्दछ चिसो हावा मजा सर्सर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।२
गौरीको गुणगान प्रेम लहरी पीडा वियोगी कथा
पढ्दा वक्ष चसक्क दुख्छ दिलमा बल्झन्छ भित्री व्यथा
पीडा प्रेम र भक्तिको प्रकृतिको गाथा बुने सुन्दर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।३
गौरी किन्नर किन्नरी सुरसिला छन् बिम्बले छन्दले
प्यारा छन् नवमञ्जरी गजबका झन् मालती मङ्गले
तिम्रा कोमल काव्यका पथ लिई पुग्नै छ मैंले पर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।४
हाम्रा भेष कला र संस्कृति बचे भाषा बन्यो वैभव
प्यारा दिव्य अमूल्य राष्ट्र कविको अग्लिन्छ झन् गौरव
नेपाली जनको हजार युगमा नेतृत्व गर्दै गर
मेरो यो शिर झुक्छ आज सहजै सम्मानका खातिर।५
३) प्रेमिल अनुराग कि मृत्युको विज्ञापन ( तृतीय)
सुजाता घिमिरे राउत, फ्र्यान्क्फोर्थ, जर्मनी
![]() |
हे विवेकी मान्छे !
तिमीलाई सुहाउँदैन
मायालु ओठमा धुवाँ
फर्की हेर त !
धर्तीको अर्गानिक आर्द्रतातिर !
संचेतनाले छुट्याइदेऊ
कुहिरो, बादल र धुवाँ
छुट्टयाऊ उस्तै रङहरुको फरक
कहाँ वनस्पतिको ओजन बुई बोकेर उठेको कुहिरो
कहाँ तिम्रो मुटु ,फोक्सो डामेर निस्केको धुवाँ
भुइँकुहिरोको सखी बादल
बादलको पानी
पानीको सखी लहलह धान
धानको सखी उघ्रेको आकाश र
सुनौलो बिहान
सबेरै म औधी मन पराउछु
शिखरबाट भर्जिन घाम र भुईंकुहिरो हेर्न
जब घस्रिन्छ
दुब्लो काँटी सलाईको बट्टामाथि
बन्दछ एक खिल्ली चुरोटको साथी
देख्छु यो जीवनघाती
रजगजी मुटु र फोक्सोमा
धुवाँको साथी आगो
वनमा लाग्ने डढेलो
मनमा लाग्ने डढेलो
डढेलोले वन जल्छ
मनमा सल्क्यो भने
भवन जल्छ
जस्तो कि सिंह दरबार
जस्तो कि सर्वोच्च अदालत
धुवाँले ढाक्छ आकाश
हराउँछ बाटो, विवेक
हेर्दाहेर्दै न्याय ढल्छ
सुर्तीको आगलागीमा जल्छ
मुटु र मान्छे
मनको आगलागीले ढल्छ मानवता
सायद मुलुकै ढल्छ,संसारै नै ढल्छ
प्रिय द्वन्द्व छ अहिले
जीवन र खरानीको
धुवाँ र भुइँकुहिरोको भिन्नता
छुट्याउन सकेन कसैले
ए मेरो भुइँकुहिरो
म औधी प्रेम गर्छु ।
छुट्याउनु ,
अमृत र विष
कहाँ आत्माको अध्यारो
कहाँ जुनेली रातको शीतलता
गँरु प्रेमले सिंचाई
बाँचेर स्वथ्स्थ जीवन
गरेर सुरक्षा मुनाहरुको
कल्पेर कलिलो भविष्य
राख्नु जिजीबिषा
पढ्नु चुरोटका बट्टाहरुमा
धूम्रपान स्वाथ्यको लागि हानिकारक छ।
यसले ज्यान पनि जान सक्छ!
प्रिय के रोज्छौ?
मृत्युको विज्ञापन कि प्रेमिल अनुराग?
४) परदेशमा दुखिरहेकाे देश ! ( तृतीय)
सुमी पोखरेल, उदयपुर, नेपाल
![]() |
कामहरू हातबाट चिप्लिरहेछन्,
भाेक र थकान बिर्सिएर
ल्याम्पाेस्टकाे छायाँमुनि
घाेप्टिरहेछु – विश्रामकाेठाकाे कुनामा
अनेकन सवाल गर्छन् अनेक आँखाहरू
आँखा जुधाउन सकिरहेकाे छैन कसैसँग,
याे विरानाे मुलुकमा –
लाग्दै छ म झन् झन् विरानाे हुँदै छु ।
प…. रदेशबाट
हरपल सम्झिरहेछु देश
छाेडेर आएँ भन्ने -ठुलाे भ्रममा रहेछु !
आगाे दन्किरहँदा त्यता –
भतभत पाेलेकाे छ कलेजी
देश त कलेजीमै पाे बाेकी आएँछु !
कलिला लाशहरूकाे कहालीलाग्दो गन्ध बाेकेर
मेरो देशकाे चिम्निबाट यतिबेला
पुतपुताइहेछ निस्सासिँदाे धुवाँकाे मुस्लाे
फैलिइरहेछ … ग्रेटवालहरू नाघ्दै
बुर्जखलिफाकाे टुप्पाेसम्म
अब कतिओैँ पुस्तासम्मलाई
पिर्ने हाे याे रागले !
आहाल देखेपछि सडकमा कलिलाे रगतकाे
चरक्क चिरिँदै छ छाती,
भ्रममा रहेँछु !
देश त यही छातीमा बाेकेर आएँछु ।
शून्यताले भरिएकाे छ – हृदयाकाश
आखिर म के खाेजरहेछु ?
बिर्सिन खाेजेकाे हुनुपर्छ मैले –
जिउँदै जलाइएकी आमाकाे अनुहार
र निशाना नचुकेका प्वालहरू,
सम्झिन खाेजेकाे हुनुपर्छ मैले –
निश्चल मुटुहरूकाे बलिदान र देशप्रेम
परिवर्तनखातिर कस्सिएका
मसिना मुठ्ठीहरूकाे अदम्य साहस !
सत्ताका मतियार भएर लडिरहेका बाउहरू
विरोधीका हतियार भएर लडिरहेका सन्तान
कसैको नियाेजित बल्छीमा
उनिइरहेका अभागी पुस्ताहरू
अनाहक सडकमा पछारिइरहेछन् ।
परदेशमा बसेर देश दुखेन कसरी भनाैँ ?
छटपटाएकाे छु मरणासन्न भएर
वाध्यताकाे बाेझले किचिएका
बन्धक छन् मैसँग – गुमनाम मेरा कथाहरू
हररातकाे अवसानपछिकाे
नियति हाे बिहानी
मस्तिष्कले फरक विश्वास गर्नुपर्छ
उधिनेर खरानीकाे थुप्राे
फट्फटाएर पखेटा
जरुर उड्नेछन् अब
आशा र सम्भावनाका फिनिक्स चराहरू
र बसाउनेछन् – बचेराहरूका सुरक्षित आवास ।
५) देखेर नेपाल यो (तृतीय)
बादल खरेल, तनहुँ, नेपाल
छन्द- शार्दूलविक्रिडित
![]() |
ती आश्वासनले गरीब-घरमा चल्दैन केही ठुलो।
तिम्रा भाषण मात्रले पनि यहाँ बल्दैन हाम्रो चुलो।
भ्रष्टाचार,लुछाचुँडी चलिरह्यो कस्तो भयो खेल यो।
आमा आँशु बगाउँछिन् गहभरी देखेर नेपाल यो।।१
विद्यार्थी,गुरु आज पुस्तक भुली सिद्धान्त बोक्छ्न् भने।
यी विद्यालय हुन् कि ता सदन हुन् या ठाँउ नेता हुने।।
डिग्री प्राप्त छ,छैन जागिर,यहाँ अस्तित्व सस्तो भयो।
लुक्छ्न् सर्टिफिकेट बाकसतिरै,देखेर नेपाल यो।।२
लाखौँ अर्थ कमाउने रहरले जान्छन् सबै आशले।
फर्के लास बनेर बाकसभरी धोका दियो श्वासले।।
केही किन्न सकिन्न खाद्यचिज यी सारै महङ्गी भयो।
बेल्चा हान्न हिँडे युवा अरबमा देखेर नेपाल यो।।३
नारी आज यहाँ बलात्कृत हुँदा को गर्छ यस्को तय।
आँफै मूक बनेर हेर्छ अहिले बोल्दैन न्यायालय।।
बस्छन् शोषक गिद्धका नजरले घेरेर नेपाल यो।
काली बन्नु छ निर्मला अब तिमी देखेर नेपाल यो।।४
कर्णालीतिर अस्पताल नहुँदा मर्दैछ मान्छे तर।
बाटो पुग्न सकेन सोलु,मुगुमा,के गर्नु भ्यूटावर।।
ताली मात्र पिटेर बन्छ कसरी समृद्ध नेपाल यो।
मान्यो लाज विकासले पनि स्वयं,देखेर नेपाल यो।।५
आँखा गाडिरहेछ आज रिपुले हाम्रा सिमानातिर।
देख्दैनन् सरकारका नजरले मान्दैन कोही पिर।।
आफ्नै संस्कृति,धर्म बेचिरहने कस्तो अहो! चाल यो।
ए साथी भन गर्व गर्नु कसरी?देखेर नेपाल यो।६