डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

काठमाडौं । डा. चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. भागवत ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी र निबन्धकार डा. योगी लगायतले उक्त कृति लोकार्पण गरे ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. ढकालले उक्त कृति गीताको आदर्शलाई पछ्याएर लेखिएको बताए । जीवन, जगत र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरामा उनले जोड दिए । उनले भने-‘ज्ञान, विज्ञान र चेतना समेटिएर जीवन र दर्शनलाई जोडेर लेखिएको कृति आएको छ।’

अर्का बक्ता पोखरा विश्वविद्यालयका प्रा.डा. अर्यालले डा. योगीसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा डा. योगीलाई प्रवचन गर्न लगेको स्मरण गरे ।

कृतिकार डा. योगीले अध्यात्म र दर्शनको बारेमा बोल्दै कृतिको रचना गर्भबारे बताए । उनले आफू मातृभूमिको सेवक भएको भन्दै स्वान्त सुखायको निम्ति लेख्ने गरेको बताए – ‘म ॐकारको साधनामा छु । लेखक भएँ भइनँ थाहा छैन् ।’

प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य राखे ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’को अध्यक्षतामा शान्तिमाया गिरीद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रममा शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्