चोटिलो प्रहार र चिसो आक्रोशको साङ्गीतिक रसायन: ‘परदेशमा गुमनाम’
✍️ समीक्षक-अनाथ अङ्कल
पृष्ठभूमि तथा परिवेश:
दुई दशकदेखि निरन्तर नेपाली वाङ्मयको कविता र मुक्तक विधामा साधनारत गुल्मी, चन्द्रकोटको भिरखानीमा जन्मिएर हाल सपरिवार बेल्जियमलाई कर्मथलो बनाएका स्रष्टा हुन्— लोकनाथ शर्मा। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको बौद्धिक चेत बोकेका शर्मा हाल अनेसास बेल्जियमको नेतृत्वदायी भूमिकामा समेत हुनुहुन्छ। उहाँको भर्खरै प्रकाशित कृति ‘परदेशमा गुमनाम’ डायस्पोरिक नेपाली साहित्यको एउटा अत्यन्तै गहन र मूल्यवान् दस्तावेजका रूपमा नेपाली साहित्यको क्षितिजमा उदाएको छ।
संग्रहित मुक्तकका हरफहरूले पाठकलाई डायस्पोरिक पीडाको गहिराइमा पुऱ्याउँछन्। जहाँ आधुनिक युगका सिद्धहस्त व्यङ्ग्यकार भूपि शेरचनको चेत र मुक्तककार क्षेत्रप्रताप अधिकारीको मनोदशा एकै ठाउँमा मिसिएको आभास हुन्छ। भौतिक विकासको उत्कर्ष (चन्द्रमा) भन्दा आफ्नै देशको धुलो र माटो कयौँ गुणा प्यारो लाग्ने यो मानवीय संवेदना आफैँमा जीवन्त छ। उहाँले ‘काँढामा टेकेर फूल सुँघ्ने’ जुन प्रयास गर्नुभएको छ, यसले नै उहाँलाई परदेशमा रहेर पनि नेपाली साहित्यको एक भरपर्दो र सशक्त खम्बाको रूपमा उभ्याएको छ।
मुक्तककार लोकनाथ शर्माको यस कक्टेल भावलाई साहित्यिक भाषामा ‘प्रगतिशील डायस्पोरिक चेत’ वा ‘क्रान्तिकारी नोस्टाल्जिया’ भन्न सकिन्छ। यो केबल आक्रोस मात्र होइन, बरु आक्रोस, माया, र चिन्तनको एउटा निकै सुन्दर र जीवन्त सम्मिश्रण हो।मुक्तककार शर्माको यो भावनालाई ‘प्रगतिवादी चिन्तन’ भन्न सकिन्छ। उनले राष्ट्रियताको झ्याली मात्र पिटेका छैनन्, बरु भ्रष्ट व्यवस्थाको बलेनीमा रुझेको देशलाई जोगाउन आफ्नो कलमलाई हतियार बनाएका छन्। उनी आक्रोश ओकल्दा ओकल्दै पनि मुस्काउन नबिर्सिने र पीडालाई महमा बदल्न सक्ने एक आशावादी कुशल सिर्जनाकार हुन्।
संग्रहित धेरै मुक्तकहरूमा शर्मा सिस्नोपानी लिएर दन्किने ज्वालामुखी जस्तै देखिन्छन्, यो मुक्तक संग्रहमा उनी कतै कतै निथ्रुक्क भिजेको मैनबत्ती जस्तै पग्लिएका पनि छन्। पग्लिनु कुनै कमजोरी होइन, बरु मन निचोरेर चुहिएको चिसो आक्रोश र सिर्जनात्मक करुणाको चरमोत्कर्ष हो। यही कन्ट्रास्ट (विरोधाभास) ले नै उनको ‘परदेशमा गुमनाम’ कृतिलाई एउटा जीवन्त मानव शरीर जस्तै पूर्ण बनाएको छ।
कृतिको संरचना र प्रवृत्ति:
साहित्यमा मुक्तक विधा आफैँमा एउटा स्वतन्त्र र विशिष्ट विधा हो। यो संवेदनाको ठोकाइबाट मानिसलाई मुर्छा पार्ने र गहिरो गरि मथिंगल हल्लाउने सामर्थ्य राख्ने मुक्तक संग्रह हो। ‘बेला प्रकाशन’बाट बजारमा आएको शर्माको यस संग्रहमा केवल एउटा प्रवासी नेपालीको विवश क्रन्दन मात्र छैन, बरु यहाँ समाजका भ्रष्ट तत्त्वहरूमाथि बन्चरो प्रहार गरिएको छ। यो कृतिमा मुख्यतया: तीनवटा प्रवृत्तिहरू समानान्तर रूपमा बगेका छन्:
प्रगतिवादी र विद्रोही स्वर: राजनीतिक विसंगति र लुटेरा प्रवृत्तिमाथि कडा शाब्दिक प्रहार।
सघन नोस्टाल्जिया (Nostalgia): परदेशको भौतिक सम्पन्नताभित्र स्वदेशको माटो र मौलिकताको खोजी।
प्रेम र मानवीय संवेदना: अर्धाङ्गिनीप्रतिको समर्पण, सन्तानको भविष्यको चिन्ता र अग्रजप्रतिको श्रद्धा।
सैद्धान्तिक तथा अन्तर्वस्तुगत विवेचना:
क. आक्रोस र चिन्तनको पराकाष्ठा (Meta-Anger and Reflection):
कृतिमा समेटिएका कतिपय मुक्तकहरूले नेपाली समाजको वर्तमान राजनीतिक दुर्गन्धमाथि सिधै औँला उठाएका छन्। जस्तै:
‘समाज कता जादैछ कसैलाई छटपट छैन, लुट्न पाउँदासम्म यिनीहरुमा खटपट छैन;
जुन जोगी आएपनि कानै छिरे जस्ता, नयाँ पुराना लुट धन्दामा नभएको लटपट छैन।’
यो कुनै सतही गाली होइन। नेपाली व्यङ्ग्य साहित्यका शिरोमणि भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा पाइने जस्तै सचेत र क्रान्तिकारी राजनीतिक चेत यस मुक्तकमा प्रस्ट झल्किएको छ। यसमा ‘मेटा आक्रोस’ (Meta-Anger) छ, जहाँ विद्रोह मात्र नभएर एउटा दार्शनिक चिन्तन पनि अटाएको छ।
ख. ‘मन निचोरेर चुहिएको चिसो आक्रोश’ र करुणा (Somatic Catharsis):
लेखकले आफ्नो सिर्जनामा भावनाको ‘ककटेल केमिकल’ मिसाएका छन्। परदेशी भूमिमा एउटा नेपालीले भोग्ने तीव्र एकाङ्कीपन र आफ्नो व्यथा पोख्न नपाउँदाको छटपटीलाई उनले यसरी उध्रिनेका छन्:
‘लेखेर भरिने गर्थे कागजका पानाहरु, रोएरै भिज्ने गर्थे सिरानी र तन्नाहरु
भेट्न गाह्रो भेटे बोल्न पर्थ्यो साह्रो, कहेरे बिलौना पोख्थे बेलाका मन्नाहरु।’
यो रुवाइमा कमजोरी होइन, बरु शरीरको करुणा र मन निचोरेर चुहिएको चिसो आक्रोश (Frozen Anger) छ। बाहिर दन्किन नपाएको तर भित्रभित्रै पग्लिएको यो संवेदनाले कृतिलाई थप कारुणिक र जीवन्त बनाएको छ।
ग. राष्ट्रवादी चेत र आशाको दियो:
शर्माले समस्या मात्र देखाएका छैनन्, बरु समाधान र आशाको एउटा सुन्दर क्यानभास पनि कोरेका छन्। भौतिक विकासको उत्कर्ष (चन्द्रमा)मा पुगे पनि आफ्नो खाली खुट्टाले टेकेको माटोको सुगन्ध नभुल्ने उनको राष्ट्रवादी अडान मुक्तकको इतिहासमा क्षेत्रप्रताप अधिकारीको भुमि प्रेमसँग तुलना गर्न योग्य छ।
‘हिमाल पहाड तराइ सुनौलो बाला फुलोस, झरी पछिको घाम झैँ झलमल्ल धरा खुलोस…’
यो हरफले शर्मा केवल गुनासो मात्र गर्ने स्रष्टा नभएर सुन्दर र समृद्ध नेपालको परिकल्पना गर्ने एक आशावादी द्रष्टा हुन् भन्ने पुष्टि गर्दछ।
४. निष्कर्ष तथा मूल्याङ्कन:
समग्रमा भन्नुपर्दा, मुक्तककार लोकनाथ शर्माको ‘परदेशमा गुमनाम’ एउटा उत्कृष्ट ‘कक्टेल भाव’ बोकेको कृति हो। यो एउटा यस्तो मानवीय शरीर जस्तै छ, जसमा विद्रोहको कठोर हड्डी र प्रेम अनि करुणाको कोमल मासुको सुन्दर संयोजन छ। गुल्मीको विकट गाउँबाट बेल्जियमको आधुनिक सहरसम्म आइपुग्दा पनि आफ्नो माटोप्रति स्रष्टाले देखाएको यो प्रेमाभाव अत्यन्तै स्तुत्य छ। यस संग्रहले डायस्पोरिक नेपाली साहित्यलाई एउटा नयाँ उचाइ प्रदान गरेको छ र नेपाली मुक्तकको भण्डारमा एउटा अमूल्य रत्न थपेको छ।
