श्रम र श्रमिकको सम्मानमा  विशेष कविता वाचन

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँको कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम-२०८३’ सम्पन्न भएको छ । वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न उक्त विशेष साहित्यिक समारोहमा भिन्न पुस्ताका दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना सिर्जनामार्फत श्रम र श्रमिकको सम्मान गरेका थिए।

कार्यक्रमको प्रारम्भमै कवि श्यामलले ‘फरक फरक लोकतन्त्र’ र  अर्को अनुवाद कविता ‘पित्तलको पिकदानी’ शीर्षकका दुई कवितामार्फत निर्वाचनमा प्रयोग हुने श्रमिकहरूको विडम्बना र श्रमको शोषणमाथि कडा राजनीतिक प्रहार गरे भने कवि अमर आकाशले ‘स्वाद’ कवितामार्फत काममा गएकी आमाको बाटो कुरिरहेका बालबालिकाको भोकको मनोविज्ञानलाई चित्रण गरे । अर्का कवि चाचुले ‘गुजुल्टिएको नाम्लो’ मार्फत भारी बोक्ने श्रमिकको काँधमा थपिएको जिम्मेवारी र आर्थिक मन्दीको प्रभावलाई उजागर गरे ।

त्यसैगरी कवि रामगोपाल आशुतोषले ‘भोकको रामायण’ कवितामा श्रमिकका रित्ता हात र पुस्ता दर पुस्ताले भोग्नुपरेको अभावको कथा उतारे । कवि कञ्चन गजमेरले ‘पसिनाको मूल्य’ मार्फत् श्रमको वास्तविक महत्त्व दर्शाइन्  भने कवि मिथोचले ‘पसिनाको गीत’ कवितामा श्रमिककै पसिनाका थोपाले यो पृथ्वी सुन्दर र हरियो भएको चर्चा गरे । कवि किसन पौडेलले ‘घटेरो’ मार्फत श्रमिकको जीवन गरिबीको चक्रमा घुमिरहेको यथार्थ पस्किए भने कवि अभय श्रेष्ठले ‘श्रम’ शीर्षकको गीतिमय कवितामा श्रमिकको स्वाभिमान र दृढ अठोटको चर्चा गरे।

कार्यक्रममा कवि लुमन्ती चित्रकारले ‘नथाकेका हातहरू’, प्रमोद स्नेहीले ‘श्रमिक, बुद्ध र सिटामोल’, जयन्ती स्पन्दनले ‘मौन नायक र जीवन सौन्दर्य’, शेखर कुमार श्रेष्ठले ‘विगत बिर्सेपछि’, बाबु त्रिपाठीले ‘यो देश कसको हो?’, नमुना शर्माले ‘श्रमिकको श्रम’ शिर्षकका कविता मार्फत श्रमको महत्त्व र श्रमिकका पीरमर्का आदि बोले ।

अन्य कविहरूमा प्रेमिला राईले ‘यान्छाप्पा’, प्रशान्त खरेलले ‘को हो आलु माइला?’, सोमनाथ दाहालले ‘बत्ती’, गोपाल कुमार मैनालीले ‘ऊ मजदुर हो’, शकुन्तला जोशीले ‘भोकको जुलुस’, अनिता लामाले ‘सन्नाटा’ शिर्षकका कविताहरूमा श्रमिककै आवाज भरेर सुनाए भने लक्ष्मी मालीले ‘हली र मैसाबको वार्ता’, राजबाबु पहाडीले ‘बाल श्रमिक’, राजाराम राउतले ‘मजदुर दिवस’, स्नेह सायमीले ‘सुचीकार’, धीरकुमार श्रेष्ठले ‘भरिया दाइ’, वासुदेव अधिकारीले ‘अक्टोबर र श्रमिक’, चन्द्रबहादुर लामाले ‘श्रम दिवसमा’ शिर्षकका कविता मार्फत श्रमिकलाई सम्झिए । रिता बलामीले घरभित्र दिनरात खटिने आमाको श्रम कुनै श्रमिकको भन्दा कम नभएको सन्देश दिइन् ।

कवि रमी प्रियाले सहजकर्ताको भूमिका समेत निभाउँदै  ‘मानिस र पर्खाल’ शिर्षकको कवितामा चराचुरुङ्गी र कमिलाले बरू सहकार्यमा आफ्ना गुँड बनाउने तर चेतनशील भनिएका मानिसले चाहिँ मालिक र मजदुरको विभेदकारी पर्खाल खडा गर्ने तीतो यथार्थ प्रस्तुत गरिन् ।

वर्तमान कविता समूहका सदस्य कवि विश्व सिग्देलले मेसिनले उखुलाई निचोरेर रस निकाले झैँ समाज र व्यवस्थाले श्रमिकको ऊर्जा र जीवनलाई पनि कसरी निर्ममतापूर्वक निचोरेर रित्तो बनाउँछ भन्ने मार्मिक यथार्थ बोलेको ‘जुस पसलमा’ शीर्षकको कविता वाचन गर्दै कार्यक्रमको समापन गरे । विगत दुई वर्षदेखि निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको बताउँदै उनले वर्तमान कविता समूहले आगामी ‘विश्व वातावरण दिवस’ को अवसरमा पनि यस्तै अर्थपूर्ण कार्यक्रम आयोजना गर्ने जानकारी दिए । समग्रमा कार्यक्रमले श्रमको सम्मान र श्रमिकको अधिकारका पक्षमा बलियो साहित्यिक ऐक्यबद्धता जाहेर गरेको सहभागीहरूले बताए ।

प्रतिकृया दिनुहोस्