देउजाले गरे देश दुखेको चिन्ता,  देउपुरेले गरे पुरस्कारको घोषणा

काभ्रे । प्रगतिशील लेखक सङ्घ, काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । नर्मदेश्वरी सत्यालको  प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा रामसुन्दर देउजा स्रष्टा विशेषका रूपमा सहभागी थिए ।

कवि देउजाले ‘मरो झण्डा’ शिर्षकको कविता मार्फत खिइँदो राष्ट्रिय स्वाभिमानमाथि चिन्ता गरे –

‘शहीदको रगतले पोतिएको मेरो झण्डा

किनाराको शान्ति भत्काउँदै छ आज

सगरमाथामा शिर उच्च पार्ने मेरो झण्डा

दिनदिनै होचिँदैछ आज !”

कविताकै माध्यममा उनले दुखाइले देश छटपटाएर दिगो शान्ति भङ्ग हुने अवस्था आउँदा चुपचाप बस्ने होइन भन्दै जुर्मुराउन काव्यिक आह्वान गरे –

‘देश दुखेको क्षण

आँसु सुकेको मन

बुद्धको ध्यान छुट्ने बेला भएन र

देशका लागि जुट्ने बेला भएन र ?’

कार्यक्रममा नवराज उत्साही, मुरहरी रायमाझी हरि, दिनेश खरेल, सरस्वती चिमोरिया, बलराम बिस्ट, शुसिला बिस्ट, यदुनाथ देउपुरे, हरि प्रसाद चौलागाईं, शारदा प्रसाद धिताल, अल्फि फोइन फालुक्पा, पुर्ण श्रेष्ठ ह्रदयाङ्कृत लगायतका अन्य कविहरूले पनि आफ्ना सिर्जना वाचन गरेका थिए ।

आफ्नो चर्चित कविता “देशसँगै पोलिए म” वाचन गरेकी प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले कार्यक्रममा अन्य श्रष्टाहरूले वाचन गरेका सिर्जनाहरूमाथि टिप्पणी गरिन् ।

सोही अवसरमा पत्रकार एवं कवि यदुनाथ देउपुरेले आफ्ना स्वर्गीय माता-पिताको स्मृतिमा `हरिमाया-पदमनिधी साहित्य पुरस्कार´ स्थापनाको घोषणा गरे भने पुरस्कृत प्रतिभा छनौटका लागि तीन सदस्यीय समिति समेत निर्माण गरियो । पुरस्कार छनौट समितिको सिफारिसमा यही आगामी जेष्ठ महिनामा प्रदान गरिने जानकारी प्राप्त भएको छ ।

आयोजक प्रगतिशील लेखक सङ्घले प्रमुख अतिथि नर्मदेश्वरी सत्याललाई सम्मान र विशेष स्रष्टा रामसुन्दर देउजालाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रम रक्तिम लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्