पिर्के ढुङ्गामा ‘काव्य कम्पनी’ को कविता उत्सव
काभ्रे । नेपाली कविताको श्रीवृध्दिमा समर्पित संस्था ‘काव्य-कम्पनी’ले काभ्रेको बनेपा नगरपालिकास्थित नालाको मनोरम पिर्के ढुङ्गामा राष्ट्रिय र स्थानीय कविहरूको सहभागितामा कविता-उत्सव सम्पन्न गर्यो ।
कार्यक्रममा १८ कविहरूले कविता, मुक्तक तथा गजल सुनाए । कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशब ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’ शिव आर्यले ‘दोरदोर’, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ शिर्षकका कविता सुनाए भने नवराज उत्साहीले केही गजल वाचन गरे । कवि जुमन किरणले केही मुक्तक र प्रकाश दाहालले अभिनयसहितको कविता प्रस्तुत गरे ।
समकालीन पुस्ताका चर्चित कविहरूद्वारा कविताको उत्थानमा पृथक् सोचका साथ लागिपर्ने उद्देश्यले स्थापित ‘काव्य-कम्पनी’को यो पहिलो औपचारिक कार्यक्रम रहेको यसका परिकल्पनाकार कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीयले जानकारी दिए । सिन्धुलीयका अलावा नियात्राकार तथा छन्दकवि रञ्जु दाहाल र गीतकार तथा कवि विश्व सिग्देलको नेतृत्व रहेको काव्य-कम्पनीको यो अभियान देशभरि बिस्तार गर्दै लैजाने दीर्घकालीन योजना रहेको जनाइएको छ ।
पहिलो सार्वजनिक कार्यक्रम भए पनि कविताकर्ममा वर्षौँ लागेर खारिएका कविहरूले सुरु गरेको यो अभियान परिपक्व रहने कवि सिन्धुलीयले बताए । कविता सुन्ने-सुनाउने अभियान सँगसँगै ओझेलमा परेका कविहरूको खोजी गर्नु पनि आफूहरूको ध्येय रहेको उनको भनाइ थियो । कार्यक्रमको सञ्चालन कवि विश्व सिग्देलले गरेका थिए ।

कुनै बन्द कोठा वा सभा हलमा नभई प्रकृतिको काखमा गरिएको उक्त कार्यक्रमका लागि कविहरू नालाको शेराबाट करिब एक घण्टा ठाडो उकालो पैदलै पिर्के ढुङ्गा पुगेका थिए ।
कार्यक्रम सकेर पिर्केढुङ्गाबाट फर्कँदा तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा निर्माणाधिन ‘स्वयम्भू वेदान्त विद्यापिठ’ले सहभागीहरूलाई खाजा खुवाएर विदाइ गरेको थियो ।
अघिल्लो दिन नै नाला पुगेर साँझ काव्यसन्ध्या गर्दै ‘काव्य-कम्पनी’ टोलीले मध्यरात्रिमा ब्रह्मदेव पार्कसम्मको निशाचर-यात्रासमेत गरेको थियो ।
