‘प्रतिक ढकाल नियात्रा सौरभ’द्वारा साहित्यकार मञ्जुल विभूषित

ललितपुर । जयन्ता-पवित्रा ढकाल स्मृति कोषले नियात्रा विधाका किर्तिमानी श्रष्टाहरूलाई हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रतिक ढकाल नियात्रा सौरभ’ वर्ष २०८३ का लागि नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित श्रष्टा मञ्जुललाई समर्पण गरिएको छ ।

जयन्ता-पवित्रा ढकाल स्मृतिकोष:२०७५ द्वारा नेपाली नियात्रा विधामा विशिष्ट योगदान पुर्‍याउनुहुने वरिष्ठ कवि तथा नियात्राकार मञ्जुललाई हालै ललितपुरको सातदोबाटोस्थित उहाँकै निवासमा प्रतीक ढकाल नियात्रा सौरभ पुरस्कारद्वारा पुरस्कृत गरिएको हो । समारोहमा वरिष्ठ कवि तथा नियात्राकार मञ्जुललाई संस्थाका अध्यक्ष तथा साहित्यकार  प्रतीक ढकाल एवं सदस्य गीता खत्रीले संयुक्तरूपमा दोसल्ला, माला, एकाउन्न हजार नगद राशिसहित सम्मानपत्रद्वारा विभूषित गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नियात्राकार मोहन चापागाईं, डा. रजनी ढकाल, प्रतीक ढकाल, गीता खत्रीलगायतले साहित्यकार मञ्जुलको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे भने संस्थाकी सदस्य-सचिव भवानी खतिवडाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा डा. जिवलाल बस्याल, डा.  प्रतिभा पुन, अम्विकादेवी निरौला, अम्विका गौतम, बलभद्र भारती, सुस्मिता नेपाल, ईश्वरी भेटवाल, सुमिता पाठक, मिहार नेपाल, धनञ्जय श्रेष्ठलगायतको उपस्थिति थियो ।

वि.सं. २०७५ सालको श्रीपञ्चमीका दिन स्थापित सो कोषले २०७६ सालदेखि प्रत्येक वर्ष जेठ महिनाको १३ गतेका दिन प्रदान गर्दै आएको उक्त सम्मानको यो आठौँ संस्करण हो । यसअघि डा. तारानाथ शर्मा, सत्यमोहन जोशी, देविचन्द्र श्रेष्ठ, भुवनहरि सिग्देल, गीता खत्री, घनश्याम राजकर्णिकार र सलोन कार्थक सो सम्मानबाट सम्मानित भई सकेका छन् ।

सम्मानित श्रष्टाको घरदैलोमै गएर अभिनन्दन गर्ने कोषको प्रचलन रहेको छ । गत वर्षदेखि पर्वतीय साहित्य समाज नेपालले पुरस्कारको व्यवस्थापन गर्ने र पुरस्कार संस्थापक कोषको नाम पनि नेपाल सरकारमा दर्ता भएबमोजिम नै परिवर्तन गरी जयन्ता-पवित्रा ढकाल स्मृति कोषको व्यानर प्रचलनमा ल्याउने निर्णय भएको कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको थियो ।

यसपटक सम्मानित नियात्राकार मञ्जुलले यात्रासाहित्यको विकासमा असाधारण योगदान पुर्‍याउनु भएको छ । ‘सम्झनाका पाइलाहरू’, ‘जाने होइन दाइ आलापोट’, ‘यात्रा स्कटल्याण्डको’, ‘कहिले आकाशमा कहिले धर्तीमा’ लगायत विशिष्ट नियात्राकृतिहरूका सर्जक मञ्जुलका लेखनमाथि अनेकौँ सोधहरू समेत भइसकेका छन् । नियात्राका साथसाथै नेपाली साहित्यमा मञ्जुलका कविता, गीत र आख्यानले पनि उत्तिकै विशिष्ट स्थान हासिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्