अनेसास अफ्रिकाद्वारा आयोजित कविता प्रतियोगितामा जमुना भट्टराई प्रथम

अफ्रिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरी पुरस्कृत श्रष्टाहरू घोषणा गरेको छ ।

प्रतियोगितामा कवि जमुना भट्टराई (अमेरिका) प्रथम, सिन्धु पौडेल (नेपाल) द्वितीय र महेन्द्र भट्टराई (सेसेल्स, अफ्रिका) तृतीय घोषित भएका छन् । अमेरिका निवासी कवि मधु घिमिरे र भारतको सिक्किम निवासी कवि विष्णुमाया कट्टेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित अनलाइन कार्यक्रममा उत्कृष्ट १० कविताका स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्य केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता अनेसास अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गोपर्मा शेर्पाले गरेका थिए भने अनेसासका केन्द्रीय उपाध्यक्ष तथा अफ्रिका महादेशीय च्याप्टरका संस्थापक अध्यक्ष गणेश खड्काले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रमुख अतिथि वाग्लेद्वारा अनेसास अफ्रिका च्याप्टरले ‘किलिमन्जारो’ प्रकाशनसहित नेपाली भाषा र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा भएको कार्यक्रममा विशेष अतिथि हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरको उन्नति र प्रगतिमा सम्पूर्ण सदस्यको योगदान महत्वपूर्ण रहेको बताउँदै भविश्यमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

अनेसासका केन्द्रीय उपाध्यक्ष गणेश खड्काले च्याप्टर स्थापना भएदेखि हालसम्म सञ्चालन गरिएका गतिविधि नेपाली भाषा–साहित्यको उन्नयनका दृष्टिले महत्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गर्दै ती योगदानलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिए ।

अनेसासका केन्द्रीय महासचिव राजु सिटौला, प्रतियोगिताका प्रमुख निर्णायक  सुविद गुरागाईं, निर्णायक मण्डलका सदस्य राज आशातीत सहित कवि, साहित्यकार र साहित्यप्रेमीहरूको सहभागिता रहेको कार्यक्रममा सचिव भरत रिजालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रामचन्द्र राईले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्