कविता धन्यवाद दिवस लालगोपाल सुवेदी
धन्यवाद दिवस
लालगोपाल सुवेदी
खोज्दै काम र माम सागर तरी आए विदेशी जन
गर्थे ती मनुवा हजार सपना साकार पार्ने मन
ठन्डी मौसम त्यो कठोर महिना दुर्दान्त नोभेम्बर
कामे थर्थर रे अबोध नर ती आकाशको मन्तिर ।
१
सेताम्मे भुइँमा विषाद हिउँको साम्राज्य त्यस्तो थियो
नाड्.गा देह ढले ,ग़रीब जनको सेकेर प्राणै लियो
जाडामा कपड़ा र बास नहुँदा सारा बिचल्ली परे
आएका जन जो थिए कहरले आधी त ठाडै मरे ।
२
भन्छन् मानिस आज बोस्टनसँगै त्यो गाउँ ‘प्ले माउथ’
हाम्रो आदिम कालको गुणकथा अद्यापि संझाउँछ
ज्यादै धार्मिक भूमिपुत्र जन ती पुर्खा दयालु थिए
संझी ईश्वर हेर अन्न कपडा सम्पूर्ण बाँडी दिए !
३
लाऊ अन्न भनेर उर्वर हरा बारी र टारी दिए
नौला सीप दिए ,लहलहा ती स्याउघारी दिए
अल्छीका मनका सुसुप्त सपना जागा गराए अनि
खोले अन्तर-चेत स्वच्छ पसिना हीरा र मोती भनी
४
आए जो नव -देशमा रहरले ,ती धन्य साच्चै थिए
सट्टामा उपहारमा कुसुमका झुप्पा गुलाबी दिए
चोखो अन्तरबाट धन्य भनियो सौजन्य बर्साइयो
मान्छेका प्रति धन्यबाद भनिने संस्कार मूर्त्याइयो
५
यस्तो उत्तम भावना भरिदिने सत्रौँ शताब्दी थियो
चौथो यो विहिबारको दिन भयो उल्लास आनन्दको
भन्छन् राष्टिय पर्व हो जगतकै ती जर्ज वाशिंटन
संझिन्छन् परिवारका सबजना भेला भएको क्षण
६
ठूलो हो उपकार निम्ति मनले आभार छर्ने कला
यस्तै हार्दिक भाव थप्छ जगमा यो सभ्यताको तला
साँच्चै जम्छ अमेरिका घरघरै पाक्छन् मिठा व्यन्जन
पस्केरै दिन पाउँदा सुमनझैँ उत्फुल्ल बन्ने मन ।
७
जन्मेँ हे जननी म पुत्र जगमा , त्यो कोख क्या धन्य छ
तिम्रै स्नेह अपूर्व लाग्छ भवमा सद्भाव सौजन्य छ
हे पुर्खा र पिता , सबै गुरुहरू ! मेरो नमस्कार छ !
छन् है धन्य सखी, सुपुत्र , सँगिनी , यो धन्य संसार छ!
८
( छन्द :- शार्दूलविक्रीडित )