अमेरिकाको न्युयोर्कमा ‘सगरमाथाको आर्तनाद’ लोकार्पण

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा लामो समयदेखि बसोबास गर्दै आएकी साहित्यकार तथा अनेसास न्युयोर्क च्याप्टर अध्यक्ष लक्ष्मी श्रेष्ठको पाँचौँ कविता संग्रह ‘सगरमाथाको आर्तनाद’ भब्य समारोहकाबीच विमोचन गरिएको छ । अनेसास न्यूयोर्क च्याप्टरद्वारा आयोजित साहित्यिक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
अनेसासका निबर्तमान अध्यक्ष तथा साहित्यकार गोबर्धन पूजाले आफ्नो शुभकामना मन्तव्यमा राम्रा कवितालाई सहजै विश्लेषण गर्न नसकिने भन्दै त्यसको जिम्मा पाठक र समालोचकलाई दिनु पर्ने बताएका थिए। अनेसासले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एकताबद्ध गर्ने काम गरेकोमा प्रशंसा गर्दै साहित्यकार पूजाले न्युयोर्क च्याप्टरको समेत खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रममा आनन्द श्रेष्ठले कृतिको समालोचना प्रस्तुत गरेका थिए भने कवि राजेन्द्र श्रेष्ठले संग्रहबाट केही कविता वाचन गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए। डा. गोविन्द कोइराला, शारदा क्षेत्री, गायिका लक्ष्मी गिरी लगायत थुप्रै अतिथिहरूले शुभकामना मन्तव्य राख्दै सर्जक श्रेष्ठको लेखन यात्राको प्रशंसा गरे ।
सोहि समारोहमा तारा-किशन फाउण्डेशनका तर्फबाट किशनसिंह धामीले सर्जक लक्ष्मी श्रेष्ठ र शारदा क्षेत्रीलाई सम्मान गरे । कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले सर्जक श्रेष्ठलाई खादा र पुष्पगुच्छाले सम्मान गर्दै कविलाई प्रोत्साहन गरेका थिए । अनेसास न्यूयोर्क च्याप्टरले पनि प्रमुख अतिथि गोवर्द्धन पूजा र उहाँकी पत्नी कुशल श्रेष्ठलाई सम्मान-पत्र र दोसल्लाले सम्मानित गरेको थियो ।
कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ लगायतको उपस्थिति रहेको थियो ।
बाउन्न थान कविता समेटिएको ‘सगरमाथाको आर्तनाद’ संग्रहको विमोचन समारोह अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने महासचिव नदीया लिवाङले कार्यक्रमको सञ्चालन गरेका थिए ।