‘दृष्टिबोध’ कथासंग्रह लोकार्पित

काठमाडौँ । कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह ‘दृष्टिबोध’ हालै राजधानीमा आयोजित कार्यक्रममा प्रा. डा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. भरतकुमार भट्टराई, पवन आलोक र कथाकार सुवेदीले लोकार्पण गरेका छन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताए । उनले अगाडि भने, ‘प्राविधिक रुपले पनि सुवेदीका कथाहरु वलिष्ठ छन् । उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन् ।’

अर्का वक्ता प्रा.डा. गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रुपमा उनको चर्चा गरे ।

कृतिमाथि चर्चा गर्दै प्रा.डा. भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताए । कृतिभित्र २४ वटा कथा रहेको भन्दै उनले प्रायः कथाहरु नारीवादी दृष्टिचेतले लेखिएको बताए । नारीको भित्री ह्रदयहरु केलाएर कथा बनेको छ । पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरु कथाका विषय बनेका छन् । कतिपय कथाहरु प्रतिकात्मक रहेको पनि प्रा.डा. भट्टराईले बताए । साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्न सक्नु कथाकारको विशेषता भएको उनले बताए ।

कार्यक्रममा साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तब्य राखे । आफुले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको सुनाउँदै कथाकार सुवेदीले नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापूर, मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रुप दिएको बताइन् ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मधु पाठकले सञ्चालन गरेका थिए भने सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्