सञ्चारकर्मी मधु पाठकको नविनतम् कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पण

काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नवीनतम् कवितासङ्ग्रह ‘अग्नि–आलाप’ राजधानीमा आयोजित एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. नवराज लम्साल, पवन आलोक, डा. ज्ञानु अधिकारी र कवि मधु पाठकले संयुक्त रूपमा कृति लोकार्पण गरे।

कृति लोकार्पणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले विचार, भावना र अनुभूतिको गहिराइबाट मात्र सुन्दर कविता जन्मिने बताए। राम्रा कविता वेदका मन्त्रजस्तै प्रभावशाली हुने उल्लेख गर्दै उनले कविता त्यतिबेला सार्थक बन्ने बताए, जतिबेला त्यसले पाठकको मस्तिष्क र हृदय दुवैलाई सक्रिय बनाउँछ।

समकालीन नेपाली कवितामा मधु पाठकको उपस्थिति संवेदना, प्रेम, करुणा, मातृत्व, करुण अनुभूति लगायतका विविध पक्षमा देखिएको उनको भनाइ थियो। उनका अधिकांश कविता अनुभूति र संवेदनामा आधारित रहेको गौतमले बताए।

कृतिमाथि चर्चा गर्दै चर्चित कवि डा. नवराज लम्सालले कविता लेख्नु गम्भीर सिर्जनात्मक कर्म भएको बताए। उनका अनुसार विचारको कलात्मक अभिव्यक्ति नै कविता हो र अनुभूतिलाई बिम्बमार्फत पाठकसम्म पुर्‍याउने क्षमता कविमा हुनुपर्छ। ‘आजका कविता कमजोर छैनन्’ भन्दै उनले मधु पाठकका कविता शक्तिशाली भएर आएको बताए। ‘मधुका कविताको हरेक हरफमा अलग कविता छ,’ उनले भने।

मधुका कविताको संरचना, विषय, संगठन र अनुभूतिको संयोजन सुन्दर रहेको उल्लेख गर्दै डा. लम्सालले नेपाली साहित्यमा देखिएका विभिन्न विकृतिका विषयमा समेत चर्चा गरे।

अर्की चर्चाकार डा. ज्ञानु अधिकारीले मधु पाठकका कविताले पाठकलाई सोच्न बाध्य बनाउँदै संवेदित तुल्याएर सहभाव र समभावतर्फ लैजाने बताइन्। उनका अनुसार मधुका कविताले समाजको आत्माको आवाज बोल्छन्।

‘मधुले प्राकृतिक बिम्बद्वारा अमूर्त भावमा कविता सिर्जना गरेका छन्। उनका कविताका शीर्षक नयाँ नभए पनि दृष्टिकोण नयाँ छ, अनुभूतिपरक छ,’ अधिकारीले भनिन्। कविले आफ्ना कवितामार्फत आत्मप्रकाशन गरेको उल्लेख गर्दै उनले मधुका कवितामा प्रेम र संवेदना प्रचुर रहेको बताइन्।

कार्यक्रममा पवन आलोक र ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखेका थिए। कवि मधु पाठकले आफ्ना सिर्जनात्मक अनुभूति र कवितायात्राका अनुभव सहभागीहरूसँग साझा गरे।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले **‘अग्नि–आलाप’**को लोकार्पणसँगै नेपाली कविता र साहित्यका विविध पक्षमाथि गम्भीर तथा सुन्दर बहस भएको बताए। यस्तो बहस कालान्तरमा नेपाली साहित्यका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो।

श्रेष्ठले साहित्यमा इतिहास र वर्तमानको सम्बन्धबारे समेत आफ्नो धारणा राखे। ‘सबै इतिहासलाई वर्तमान बनाएर वर्तमानमाथि अन्याय गर्न मिल्दैन। इतिहास इतिहासकै रूपमा सम्मानित भएर रहनुपर्छ,’ उनले भने। उनले मधु पाठकका कवितालाई समकालीन नेपाली कविताको सुन्दर उपस्थिति भएको बताए।

कार्यक्रममा कवि सुष्मा आचार्य ‘अंशु’, मणि लोहनी र ठाकुर बेलबासेले **‘अग्नि–आलाप’**भित्रका कविता वाचन गरेका थिए।

नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा समाजकी सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राखेकी थिइन्।

‘अग्नि–आलाप’ नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो।

प्रतिकृया दिनुहोस्