( कविता) नारायण अधिकारी आरुका बोटमा अक्षरका फूलहरू
( कविता)
आरुका बोटमा अक्षरका फूलहरू
नारायण अधिकारी
तिमी कोपिला भाँचेर
बखान गर्छौ फूलको
र, निभाएर साँझका बत्तीहरू
बयान गर्छौ उज्यालोको ।
हरेक दिन
मिर्मिरेमा आउने बिहानीलाई
कालो पर्दाले छेकेर
तिमी बकबक गर्छौ उज्यालो दिनको ।
थुनेर मूलको पानीलाई
बस्तीको प्यास मेटाउन सकिँदैन
जसरी बेर्ना निमोठेर
फलवृक्षको कल्पना गरिँदैन ।
शान्त तलाउमा ढुङ्गा फ्याँकेर
छालहरू सिर्जना गर्ने तिमी नै हौ
आँधीले तिम्रो बस्ती बगाएपछि
तिमी तलाउलाई दोष दिन्छौ ?
मारेर मान्छे दैलादैलामा
मानवता बचाउन सकिँदैन
भत्काएर आजको वर्तमान
तिमी भविष्यको सपना बाँड्छौ ?
तिमी परेवा मार्छौ
र वकालत गर्छौ शान्तिको
फुटाएर मन्दिर, चर्च र मस्जिदहरू
स्वर उराल्छौ सहिष्णुताको ?
खरानी चाहियो भनेर
छानामा आगो लगाउन सकिँदैन
नानीहरुले उज्यालो नदेखून् भनेर तिमी
पर्दाले आँखाहरू छोपिदिन्छौ ।
तिमी दुबो उखेलेर
मरुभूमिको खेती लगाउँछौ
जतिसुकै अग्लो पर्खाल उभ्याए पनि
नदीको बहाव छेक्न सकिन्न ।
क्याक्टसहरू पहरामै फुल्छन्
र मरुभूमिमै उम्रन्छन्
सिउँडीको बोटहरू ।
कागज जलाएर
अक्षरहरू डढाउन सकिँदैन ।
तिमी विद्यालयहरू लडाएर
नष्ट गर्न सक्दैनौ अक्षरको बालीलाई ।
तिमी ढोका थुनेर
कैद गर्न सक्दैनौ सिङ्गो घरलाई
चेतनाको उपल्लो धुरी चढेर हेर
स्वतन्त्र छ पृथ्वी
सिङ्गो धरती थुन्ने कुनै ढोका हुँदैन ।
अक्षरहरू सोहोरेर जलाए पनि
जन्मिनेछन् फेरि मलालाहरू
आस्था कहिल्यै मर्दैन
फैलिरहनेछ दुबोमा हरियाली
र फुलिरहनेछन्–
आरुका बोटमा अक्षरका फूलहरू ।
- भर्जिनिया, अमेरिका