भानु जयन्तीका अवसरमा अनेसासको वार्षिक साधारणसभा र सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा २१२ औँ भानु जयन्तीको अवसर पारी वार्षिक साधारण सभा तथा विभिन्न बिधामा सर्वोत्कृष्ट पुस्तक पुरस्कारको  नतिजा घोषणा यही जुलाई १८ का दिन गरिएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा भर्च्युयल माध्यमबाट उक्त आयोजित कार्यक्रममा केन्द्रीय महासचिव राजु सिटौलाले केन्द्रीय कार्यसमितिको वार्षिक र आर्थिक प्रतिवेदन तथा बोर्डका महासचिव प्रकाश नेपाल र कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले बोर्ड अफ ट्रस्टीका प्रतिवेदनहरू प्रस्तुत गर्नुभयो । छलफल र सहभागीहरूबाट प्राप्त सुझावपश्चात ती प्रतिवेदनहरू पारित भए ।

कार्यक्रमको दोस्रो सत्रमा आदिकवि भानुभक्तले नेपाली साहित्यमा पुर्‍याउनुभएको विशिष्ट योगदानको बारेमा साहित्यकारद्वय भवानी खतिवडा र पीताम्बर दाहालले चर्चा गर्नुभयो भने भानुभक्तका खनाती सुरेन्द्रदेव आचार्य र बोर्ड अफ ट्रष्टीका सदस्य प्राध्यापक धर्मराज कोइरालाले कविता वाचन गर्नुभयो ।

तेस्रो सत्रमा अनेसास पुरस्कार समितिका संयोजक तथा बोर्ड अफ ट्रष्टीका उपसभापति साहित्यकार तीर्थराज पाण्डेले हरेक दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको नतिजा घोषणा गर्नुभएको थियो । समितिलाई प्राप्त दुई सय बीसवटा पुस्तकहरूमध्येबाट रोशन थापा नीरवद्वारा लिखित उपन्यास ‘सन्त्रासका साठी दिन’लाई एक्काइसय अमेरिकी डलर राशिको सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरिने घोषणा गरियो ।

सोही अवसरमा  डा. तुलसी आचार्यद्वारा लिखित ‘स्वप्नभूमी’ उपन्यासलाई होमनाथ सुवेदी डायस्पोरा बाङमय पुरस्कार, मोमिलाद्धारा लिखित निबन्ध संग्रहलाई सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध पुरस्कार, डा. दुर्गाबहादुर घर्तीद्वारा लिखित ‘साँस्कतिक अध्ययन’लाई सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार, जगन्नाथ पौडेलद्वारा लिखित कविता संग्रह ‘बग्दै बग्दै’ लाई अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार, कृशु क्षेत्रीद्वारा लिखित कविता संग्रह ‘पसिनाको क्यानभास’लाई अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार, कृष्ण कुसुमको कथा संग्रह ‘पार्श्वधुन’लाई अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, अखण्ड भण्डारीको उपन्यास ‘बोरा’लाई अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गरिने घोषणा भयो । ती सबै पुरस्कारका राशि एक हजार अमेरिकी डलर रहेको छ ।

त्यसैगरी पाँचसय अमेरिकी डलर राशिका अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत पुरस्कार र अनेसास सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार क्रमशः लक्ष्मण सिटौलाको ‘धर्तीको ध्वनि’ र विमला निरौला ढुंगानाको ‘यात्रामा देश’लाई प्रदान गरिने घोषणा गरियो । एक हजार पाँचसय अमेरिकी डलर राशिको अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार भने शशिराम कार्कीद्वारा लिखित ‘रुकुमका लोककथा’लाई प्रदान गर्ने घोषणा गरियो ।

ती फरक-फरक पुरस्कारहरू अनेसास बोर्ड अफ ट्रस्टी, प्रा.डा. गोपी उप्रेती, रोहिणी शर्मा, तीर्थराज पाण्डेय, गीता खत्री, रश्मी भट्ट, विश्वबहादुर शाह, पदम विश्वकर्मा, नारायण पाण्डे, पुरु तथा कल्पना सुवेदी, शिव लामिछाने तथा भीम रेग्मी र रितादेवी प्रधानले प्रायोजन गर्नुभएको हो ।

कार्यक्रममा पुरस्कार समितिका सदस्यहरू डा. विजयराज शर्मा, ईश्वरीप्रसाद भट्ट, सन्ध्या पहाडीले पुरस्कारको बारेमा मन्तव्य प्रकट गर्नुभयो । बोर्ड अफ ट्रस्टीका सल्लाहकार रोहिणी शर्मा, पूर्व अध्यक्ष पुरू सुवेदी, गोवर्धन पूजा, गीता खत्री, बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी र वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले पनि आ-आफ्नो मन्तव्य राख्नुभयो ।

संस्थाका पूर्व अध्यक्षहरू, संस्थापकहरू, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रस्टीका पदाधिकारी र सल्लाहकारहरू, च्याप्टर अध्यक्ष र प्रतिनिधिहरू, ट्रस्टी तथा आजीवन सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला र बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्