‘बी डी त्यागी प्रतिभा सम्मान’ सापकोटालाई
काठमाडौँ । यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरियो ।
जीवनभर लेखन कार्यमा सक्रिय रहेर पनि चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको नाममा स्थापित उक्त सम्मान उनैको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रकी संरक्षक गौरी आचार्य, साहित्यकार बेदमणी घिमिरे, उपन्यास समाजका अध्यक्ष शंकर भारती, साहित्यकार वाजुराम पौडेल लगायतले सापकोटालाई समर्पण गरे ।
पनौती, काभ्रेका स्रष्टा सापकोटाका ‘यात्राका इन्द्रेणी रंग’, ‘यात्राको लय’, ‘मनको वारपार’ पुस्तकाकार कृति प्रकाशित छन् । निबन्ध, नियात्रा, समीक्षा, कविता, मुक्तक, लघुकथा लगायत साहित्यका विभिन्न बिधामा कलम चलाउने सापकोटा सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिव हुन् ।
केन्द्रले सोही अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई ‘नेपथ्य सम्मान’, साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेललाई ‘बीडी त्यागी योगदान सम्मान ‘ तथा ललिता श्रेष्ठलाई ‘गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान’ पनि प्रदान गरेको थियो ।
