‘अनुभूतिका महक’ कविता संग्रह लोकार्पित

काठमाडौँ । ‘अनुभूतिका महक’ शिर्षक कवितासंग्रहको आइतबार राजधानीमा लोकार्पण गरिएको छ । उक्त संग्रह कवि तारा सुवेदीको पहिलो कविता कृति हो । नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न साहित्यिक कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. कृष्णप्रसाद दाहाल, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, कवि सुवेदी लगायतले सो सङ्ग्रह लोकार्पित गरे ।

कार्यक्रममा प्रमुख अतिथि कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरु स्मरण गर्दै सुवेदीलाई मिलनसार, सक्रिय र लगनशील व्यक्तित्वको रुपमा आफुले पाएको बताए ।

लोकार्पित पुस्तकमाथि प्रा. डा. कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रुपमा सुवेदीलाई पाएको बताए । उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीका कविताले पाठकको मन जित्ने धारणा राखे ।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य, चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे ।

कवि सुवेदीले आफ्ना अनुभूतिहरु सार्वजनिक गरिन भने विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला र खुशी अधिकारीले लोकार्पित कृतिका कविताहरु बाचन गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न प्रदीप सापकोटाद्वारा सहजीकरण गरिएको कार्यक्रममा डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्