अनेसासद्वारा विश्वव्यापी रूपमा गजल प्रस्तुति

मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विश्वव्यापी प्रतिनिधित्व झल्किने गरी भव्य तथा सभ्य कार्यक्रम आयोजना गर्यो। अनेसास केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा एसिया, युरोप, अस्ट्रेलिया तथा अमेरिकाका गजलकारहरूको प्रतिनिधित्व रहेको थियो।
सर्वप्रथम डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले मोतीराम भट्टको जीवनीका आलोकमा उनको बहुआयामिक योगदानबारे प्रकाश पारे।
विगत लामो समयदेखि जर्मनीलाई कार्यक्षेत्र बनाउँदै आएका खड्ग न्यौपानेले हार्मोनियमको मधुर धुनसहित मोतीराम भट्टकै गजल गायन प्रस्तुत गरी जुम सभाकक्षलाई मन्त्रमुग्ध बनाए। यसलगत्तै गीत तथा गजलविज्ञ एवम् समालोचक प्रा. डा. कृष्णहरि बरालले मोतीरामद्वारा रचित गजलहरूको विशद चिरफार गर्दै गजलसम्बन्धी ज्ञानको गहिराइ प्रस्तुत गरे। गजल अभियन्ता एवम् गीतकार रवि प्राञ्जलले नेपालको प्रतिनिधित्व गर्दै सशक्त गजल प्रस्तुत गरे।
ब्रिसबेनबाट डा. केशव शर्मा, पर्थबाट सन्तोष लम्साल र सिड्नीबाट जीतेन्द्र मल्लले अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै आ-आफ्ना गजल प्रस्तुत गरे। कोरियाबाट जीवन खत्री र विष्णु वाग्ले तथा जापानबाट दिनेशराज ज्ञवाली र गिरिजा गैरेले प्रतिनिधित्व गर्दै शानदार गजल प्रस्तुत गरे।
जर्मनीबाट रमा बिडारी पौडेल ‘नारी जागरण’ र पोर्चुगलबाट एन. बी. अञ्जानले युरोप महादेशको प्रतिनिधित्व गर्दै वाचन गरेका गजलहरूमा समसामयिकताको गाढापन झल्किएको थियो। शकुन ज्ञवाली र पुष्पा खनालले अमेरिकाको प्रतिनिधित्व गर्दै आ-आफ्नै लयमा सुललित गजल प्रस्तुत गरे।
अनेसासका सल्लाहकार तीर्थ अधिकारीले दिवंगत तथा अग्रज स्रष्टाहरूको सम्मानमा अनेसासले आयोजना गर्ने यस्ता कार्यक्रमबाट नवसर्जकहरूलाई प्रेरणा प्राप्त हुने विचार व्यक्त गरे। होमनाथ सुवेदी तथा राजु सिटौलाले मोतीराम भट्टको योगदान झल्किने क्रमशः छन्द र गद्य कविता प्रस्तुत गरे। यसै क्रममा होमनाथ सुवेदीले वाचित गजलहरूबारे संक्षिप्त टिप्पणी गर्दै कार्यक्रमको समीक्षा गरे।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीले मोतीराम भट्ट नेपालमा नेपाल प्रज्ञा-प्रतिष्ठान र प्रवासमा अनेसासका पर्याय भएको धारणा व्यक्त गरे। अन्त्यमा उनले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरे।
