सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न
काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उनले दीप प्रज्वलन गरी सभाको उद्घाटन गरे ।

साहित्यकारलाई फाल्तु जोकर जस्तो बनाइएको समयमा साहित्यकारहरुबीच मात्र नभएर साहित्यिक संघसंस्थाहरुबीच पनि समन्वय र सहकार्य गर्नुपर्ने कुरामा उनले जोड दिए । साहित्यमा पूर्वाग्रह राख्न नहुने उनको तर्क थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्यिक क्षेत्रमा झाँङि्गिएको विकृतिप्रति कटाक्ष गरे । जे भनिन्छ त्यो गर्नुपर्छ भन्ने मान्यता बोकेर लाग्न उनले सुझाव दिए । देशलाई अप्ठ्यारो पर्दा साहित्यकार र साहित्यिक संघसंस्था जिम्मेबार भएर बोल्नुपर्ने उनको धारणा थियो । नेपाली कवि र साहित्यकारहरुका गर्व गर्न लायक कृतिहरु भएपनि अनुवादको अभावमा अन्तर्राष्ट्रियकरण हुन नसकेको उनको भनाई थियो ।

सभामा बोल्दै कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सुनकोशीसँगको आफ्नो निकटतासहितका अनभूतिहरु साझा गरे भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले छोटो समयमा सुनकोशीका गतिबिधिहरुलाई नजिकबाट निहालिरहेको बताए । लेखक सूर्यप्रसाद लाकोजूले संस्था स्थापना गर्न भन्दा निरन्तरता दिन कठीन भएको भन्दै सुनकोशीलाई शुभकामना दिए ।
शनिबार राजधानीमा आयोजित साधारण सभामा पवन आलोक, केशव पराजुली, सुमन सौरभ, शंकर भारती, तेजप्रकाश श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राखे ।
अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न सभामा महासचिव प्रदीप सापकोटाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो । प्रदीप सापकोटाद्वारा सञ्चालित सभाको उद्घाटन सत्रमा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखेका थिए ।
