अनेसासको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

तीन दिन सञ्चालन भई आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ ।

सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे सम्मेलनमा छलफल भएको छ ।

यस अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । यस सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफल भएको थियो ।

सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायतनिवासी साहित्यकार माया गुरुङ र डा. सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।

त्यसैगरी सम्मेलनका अवसरमा अनेसासको प्रकाशन रहेको ‘अन्तर्दृष्टि’ को स्वर्ण अंक सार्वजनिक गरिएको थियो । 

प्रमुख अतिथि रोहिणी शर्मा, अनेसास अध्यक्ष गोवर्द्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदीलगायत मञ्चासीन अतिथिद्वारा एकैसाथ लोकार्पण गरिएको उक्त पत्रिकाका कार्यकारी सम्पादक रमेश दाहाल हुन् ।

अनेसास इतिहास ग्रन्थको दोस्रो खण्डको नाम दिन सकिने यस पत्रिकामा अनेसास केन्द्र तथा च्याप्टरका पदाधिकारीहरुको व्यक्तिगत तथा संस्थागत इतिहासलाई अनुभूतिमय बनाई संस्मरणका रुपमा प्रस्तुत गरिएको छ । अन्तर्दृष्टिका सबै सामग्री बौद्धिक खुराकयुक्त बनाउनु र संस्थाका गतिविधिहरु प्रष्ट रुपमा झल्काउनु यस अंकको उल्लेख्य पक्ष हो ।

विश्वभरिका च्याप्टर पदाधिकारी र आजीवन सदस्यहरुलाई समेत आगामी कार्यक्रम र लेखनयात्रातर्फ दिशानिर्देश गरोस् भन्ने हेतुले यसलाई अलि फरक ढंगले प्रकाशित गरिएको कुरा प्रधान सम्पादक लालगोपाल सुवेदीले जानकारी गराएका छन् ।

चार खण्डमा विभाजित यस अंकको पहिलो खण्डः “अनुभूतिमा अनेसास र अन्तर्दृष्टि”मा ३० जना साहित्यकारहरुको लेख विचार समोवश रहेको छ भने दोस्रो खण्ड “अनेसास गतिविधि” रहेको छ ।

त्यसैगरी खण्ड ३ “कथा संस्मरण लघुकथा नियात्रा आदि”मा ११ जना साहित्यकारहरुको रचनाहरु समेटिएका छन् । खण्ड चार “कविता गीत गजल मुक्तक खण्ड”मा २९ जना साहित्यकारहरुको रचनाहरु समावेश रहेको कुरा अन्तर्दष्टिका कार्यकारी सम्पादक रमेश दाहालले जानकारी दिएका छन् ।

सन् १९९१ देखि प्रकाशन भएको यस अन्तदृष्टिको प्रथम प्रधान सम्पादक अनेसासका संस्थापक सदस्य श्री पुरुषोत्तम सुवेदी हुन्  भने वर्तमान प्रधान सम्पादक लालगोपाल सुवेदी चौधौँ प्रधान सम्पादक हुन् ।

प्रवासमा नेपाली भाषा साहित्य, कला संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि स्थापित अनेसासको प्रकाशन रहेको यो साहित्यिक पत्रिका डायस्पोरामा पहिलो साहित्यक पत्रिका हो । 

अनेसासका अध्यक्ष तथा अन्तदृष्टिका प्रमुख सल्लाहकार गोवर्द्धन पूजाका अनुसार ३०४ पृष्ठ रहेको यस अन्तर्दृष्टिको मूद्रण प्रति लिनका लागि अन्तदृष्टिका कार्यकारी सम्पादक रमेश दाहाल (नेपाल) ९८४१२६५२४२ नम्बरमा फोन गरी लिन सकिने छ भने यसको डिजिटल प्रति तलको QR Code स्क्यान गरी पढ्न सकिने छ ।

डिजिटल प्रतिका लागि  स्क्यान गर्नुहोस्

हालसम्म १४ जनाले अन्तर्दृष्टिको प्रधानसम्पादकत्वको भूमिका निर्वाह गरिसकेका छन् । यस अंकका प्रधान सम्पादक लालगोपाल सुवेदी हुन् भने कार्यकारी सम्पादक रमेश दाहाल हुन् ।

दाहालका अनुसार यस स्वर्ण अंकमा अनेसास र अन्तर्दृष्टिका अनुभूतिहरुप्रधान लेख, कथा, संस्मरण नियात्रा, कविता गजल गीत मुक्तक आदि समावेश रहेको यस अंक अनेसास दर्पणमा पनि पढ्न सकिने छ भने यसको मुद्रित प्रति लिन चाहनेहरुले अनेसासका पदाधिकारी सदस्य वा अन्तर्दृष्टिका सम्पादनसमूहसँग सम्पर्क गरी लिन सक्नेछन् ।

यसै अवसरमा अनेसासकी संस्थापक सदस्य स्व‍. नन्दादेवी सुवेदी स्मृतिग्रन्थ, पुरु सुवेदीको “पुरोधा” कवितासंग्रह, संगीता स्वेच्छाको “सेतो सिउँदो” अनेसासको ‘प्रवासी बालसिर्जना’, यात्रामा देश , सर्वज्ञ वाग्लेको ‘नेता बन छोरा नेता बन’ खुसी खनालका आठ पुस्तक सुरेन उप्रेतिका बालसिर्जनाहरू  प्रतिमा केसीको प्रवासी मन, रत्न सुब्बाको बालसिर्जना, बालतरंग, ललितश्री सिक्किमबाट बालकवितासंग्रह सिक्किम च्याप्टर स्मारिका – विश्व सेतु, पूर्ण योन्जन , सिक्किम तामाङ जातीय चिनारी, बिमल गिरीको ‘अजम्बरी रसुनाखरी’ हाइकुसंग्रह, लतिका जोशीको जीवन अदृश्य पलहरू ललिता जोशीको ‘संवाद संजाल’ पत्रिकालगायतका कृतिहरूको लोकार्पण भएको छ ।

आठौँ सम्मेलनका अवसरमा अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’ले सम्मानित गरिएको छ भने ‘अनेसास हिरो २०२४’ अनेसास न्युह्यामसायर च्याप्टरका प्रधान सम्पादक तथा पुरस्कार समितिका सदस्य ईश्वरी भट्टलाई प्रदान गरिएको छ ।

अनेसास पोर्चुगल च्याप्टरको संयोजकत्वमा भएको यस सम्मेलनमा प्रवासमा बसेर नेपाली भाषा साहित्य कला संस्कृतिका सम्वद्र्धनमा योगदान पुर्याएबापत दर्जनौँलाई सम्मानित गरिएको कुरा संयोजक च्याप्टरका महासचिव एनबी अन्जानले बताएका छन् ।

महासचिव अन्जानले यस सम्मेलनको व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको र सम्मेलन सफल पार्न स्थानीय नेपाली रेष्टुरेन्टका संचालक, व्यापारी तथा यहाँका स्थानीय निकायहरुले गरेको सहयोगप्रति खुलेर प्रशंसा गर्दै उनीहरुलाई हार्दिक आभारसमेत व्यक्त गरेका छन् ।

कार्यक्रममा अनेसासका अध्यक्ष गोवर्द्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठलगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राखेका थिए । 

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सम्मेलनले ठूलो भूमिका निर्वाह गरेको अध्यक्ष गोवर्द्धन पूजाले बताए । सम्मेलनले नेपाली भाषा र साहित्यको थप प्रचार–प्रसारका साथै यसको संरक्षण र संवद्धर्न गर्नुपर्ने सन्देश दिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्