‘अग्रजसँग वर्तमान कविता समूह’ को तेस्रो श्रृंखला कवि श्यामलसँग
काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता समूह’ कार्यक्रमको तेस्रो श्रृंखला वरिष्ठ कवि श्यामलसँग सम्पन्न भएको छ । कार्यक्रममा साहित्य, समाज, भाषा, संस्कृति तथा समकालीन नेपाली कविताका विविध आयाममाथि गहन संवाद भएको थियो ।
‘तपाईँहरू मार्फत’, ‘लयब्रह्म’ र ‘हतारमा यात्रा’ सहित तीनवटा कविता सङ्ग्रह तथा ‘रित्तो गाउँ’ निबन्ध सङ्ग्रह गरी जम्मा चारवटा कृति पाठकमाझ ल्याइसकेका श्यामलका एउटा कविता सङ्ग्रह र एउटा निबन्ध सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छन् ।
पञ्चायतकालीन प्रतिकूल समयमा पनि भूमिगत रहँदै ‘नक्षत्र शर्मा’, ‘हरिश दिक्पाल’ लगायत विभिन्न छद्म नाममा लेखन कर्मलाई निरन्तरता दिँदै हालको ‘श्यामल’ सम्म आइपुग्दाका उनका आरोह–अवरोहहरू रोचक रहेको उल्लेख गरिएको थियो ।

कार्यक्रममा कवि श्यामलले आफ्नो साहित्यिक यात्रा, लेखन अनुभव तथा नेपाली कविताको वर्तमान अवस्थाबारे धारणा राख्दै कविता केवल कोरा अभिव्यक्ति मात्र नभई समाजको संवेदना र समयको दस्तावेज पनि भएको बताए । उनले साहित्यले मानिस र समाजलाई चेतनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । संवादका क्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, अध्ययन संस्कृतिमा आएको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव तथा नयाँ पुस्ताको सिर्जनशीलताबारे पनि छलफल भयो ।
उक्त कार्यक्रममा कवि श्यामलले रचनागर्भका प्रसङ्गसहित आफ्ना कविताहरू ‘सिलिकन सुन्दरी र प्लास्टिकका कवि’, ‘संकटकालमा सहवास’, ‘रातको हुम्ला’, ‘केही डरलाग्दा नामहरू’, ‘पावरहाउस’ र ‘मैना सुनारकी आमा’ सुनाए । साथै, कुर्दिस कविको अनूदित कविता ‘स्वतन्त्रता’ पनि वाचन गरे ।
कवि श्यामलकै समकालीन कवि स्नेह सायमिले विगतका लेखन गतिविधि संघर्षपूर्ण रहे पनि ती दिनहरू उत्साहपूर्ण रहेको बताउँदै कवि श्यामलसँगको आफ्नो सहयात्राको संस्मरण सुनाए । उनले ‘चेतनाको पक्षघात’ र ‘यात्रा’ शीर्षकका दुई कविता पनि सुनाए ।
अन्य सहभागी कविहरूले पनि आफ्ना कविता वाचन गरेका थिए । धीरकुमार श्रेष्ठले ‘मेरो प्रेम’, अभय श्रेष्ठले ‘जरुरी कुरा’, विश्व सिग्देलले ‘विवशता’, प्रकाश रम्घालीले ‘फारु गर्दै’, सुनिता खनालले ‘ओ नायक’, चाचुले ‘डीएसएलआर क्यामेरा’, चन्द्रबहादुर लामाले ‘प्रतिक्षालय’ तथा रमी प्रियाले ‘दन्त्यकथा’ शीर्षकका कविता वाचन गरेका थिए । शारदा अधिकारीले कवि श्यामलको ‘शान्ति नेपाली’ शिर्षकको कविता वाचन गरेकी थिइन् ।
वर्तमान कविता समूहका विश्व सिग्देलले अग्रज स्रष्टासँग नयाँ पुस्तालाई साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम श्रृंखला सञ्चालन गर्दै आएको बताए । यस्ता साहित्यिक संवादले युवा स्रष्टा र पाठकमाझ सकारात्मक वैचारिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरे ।
