कवि ढुङ्गेलको “मृत्यु-उत्सव” कविताकृति लोकार्पण

२०८३ वैशाख २६, काठमाडौं कवि शेखर ढुङ्गेलको कविताकृति ‘मृत्यु-उत्सव’को आज एक विशेष कार्यक्रमकाबीच लोकार्पण भएको खबर छ।

साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा उपस्थित सबै साहित्य प्रेमीहरू प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा रहेका थिए भने अन्य आमन्त्रित व्यक्तित्वहरूमा चर्चित कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ एवं राजनीतिज्ञ पत्रकार देवप्रकाश त्रिपाठी, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, साहित्यकार गोविन्द गिरी प्रेरणा (अमेरिका), गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा ‘वित्यासी’, अनेसास केन्द्रीय सदस्य तारा उप्रेती (क्यानडा), सर्जक साबु गदाल कार्की (अमेरिका), सर्जक साबु गदाल तथा अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसीको उपस्थिति रहेको थियोे।

मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा कविताकृति ‘मृत्यु-उत्सव’ का भूमिका लेखकसमेत रहेका वरिष्ठ समालोचक प्रमोद प्रधानले लोकार्पित कृतिका बारेमा संक्षेपमा प्रकाश पार्दै समीक्षात्मक टिप्पणी पेश गरेका थिए।

टिप्पणीका क्रममा उनलेे मृत्युलाई उत्सवका रूपमा देख्नु भनेको आध्यात्मिक कुरा भएको बताए। ढुङ्गेलका कविताहरूमा स्वदेश मोह, देश प्रेम, देशमा भएका बेथितिहरू, भ्रष्टाचारका कुराहरू र जीवन दर्शनसँग सम्बन्धित व्यङ्ग्य चेतना रहेको बताए।कविताकृतिभित्र ८३ वटा कविताहरू रहेको बताउँदै उनलेे नेपाल देश बाहिर पनि अर्को नेपाल रहेको र बाहिरको नेपालमा बसेर साहित्यको सृजना गर्नु पनि एउटा ठूलो उपलब्धि भएको बताए।

कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा ५३ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको साहित्यिक पत्रकार संघको विगत कोट्याउँदै नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयनमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए। मुलुक हाल परिवर्तनको संघारमा रहेको र देश समृद्धिको बाटोमा रहेको बताए। कार्यक्रममा लेखकीय मन्तव्य राख्दै कवि शेखर ढुङ्गेलले के लेखेँ के लेखेँ जस्तो लागेको थियोे तीनजना स्रष्टाहरूले मेरो कविता वाचन गरेर सुनाएपछि र समालोचक प्रधानले मेरो कविताका बारेमा बोलेपछि भने केही लेखेको रहेछु भन्ने महसुस भएको बताए।

कृतिका बारेमा बोल्दै उनलेे मृत्युदेखि डर हटाइदियो भने मृत्यु उत्सव हुन्छ जस्तो लाग्छ, भूतलाई छाडिदिने र वर्तमानमा जिउने हो र मृत्युको डर हट्यो भने नकारात्मक सोच हराएर नयाँ उर्जा आउने कुरा बताए। लोकार्पित कृतिभित्रबाट कविहरू सुमन थापा सङ्गमले ‘ढुङ्गा’ शीर्षकको कविता वाचन गरेर सुनाएकी थिइन् भने कवि गीता कार्कीले ‘मैले च्यातेँ प्रमाणपत्र’ र कवि मणि लोहनीले ‘मृत्यु’ शीर्षकको कविता वाचन गरेर सुनाएका थिए।

कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी,मदनदास श्रेष्ठ तथा देव प्रकाश त्रिपाठीले शुभकामना मन्तव्य राख्दै कवि ढुङ्गेललाई सुन्दर कृतिका लागि बधाई दिएका थिए। कार्यक्रममा कवि ढुङ्गेललाई साहित्यिक पत्रकार संघको तर्फबाट सम्मान गरिएको थियोे भने कवि ढुङ्गेलका तर्फबाट पुस्तकको सुन्दर आवरण बनाउने कलाकार कवि नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियोे।

जरामा अर्थ खोज्ने कलाकार तथा कवि नरेन्द्रबहादुर श्रेष्ठले हालसम्म तीनसय भन्दा बढी कृतिहरूमा नि:शुल्क आवरण बनाइसकेका छन्। कार्यक्रममा संघकी कोषाध्यक्ष कवि पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने गीतकार तथा कलाकार नरहरि प्रेमीले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रम सञ्चालनका क्रममा उनले कृतिभित्रका केहीले कविताहरू लय हालेर गाएका थिए। चर्चित गायक एवं संगीतकार नरहरि प्रेमीले सहजीकरण गरेको कार्यक्रममा लेखक कवि एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्